• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धान खेती समयमा वर्षा नभएका कारणले प्रभावित भयो । सबैभन्दा बढी धान उत्पादन गर्ने क्षेत्र भनि चिनिएको मधेश प्रदेशमा खाने पानी समेतको अभाव भएपछि धान रोपाइँ गर्न नसकिने त निश्चित नै थियो । पछि सामान्य वर्षा भएपछि कतिले रोपाइँ गरे भने बिउ नभएका कारण कति खेत अहिले बाँझै रहेको अवस्था छ ।
रोपाइँ गर्न भ्याएका किसानले अहिले रसायनिक मलको अभाव खेप्नु परिरहेको छ । गाउँ गाउँमा मात्र होईन,मल अभावको विषय संसदमा समेत प्राथमिकताको विषय बन्ने गरेको छ । संसदमा बोल्ने अधिकांश सांसदहरुले यस कुरालाई उठाएर सरकारको ध्यानाकर्षण गराउँदै आएका पनि छन् । सरकारका विभागीय मन्त्रीले मल बितरणको फेहरिस्त प्रस्तुत गर्दा लाग्छ मलको अभावका बारेमा जति चर्चा भईरहेको छ अवस्था त्यस्तो छैन । तर वास्तविक किसान कहाँ गएर बुझ्दा उनीहरुले आवश्यकताको अनुपातमा अति नै न्यून परिमाणमा मल पाएको दुःखेसो व्यक्त गर्न छाडेका छैनन् । स्थानीय तहको सिफारिसमा सहकारी मार्फत मल बितरणको व्यवस्था जिल्ला जिल्लामा मिलाएको भनिए पनि मल लिन जाँदा आवश्यकताको एक चौथाई मल पनि नपाएको कुरा किसानहरु बताउँछन् । मलको परिमाण र आवश्यकताको अनुपातलाई हेर्दा यति फरक अवस्था देखिएका कारण मल कहाँ गईरहेको छ भन्ने आशंका बढ्नु स्वाभाविकै हो । अनुदानको मल किसानले नपाईरहेको अवस्थामा बजारमा त्यही मल बढी मूल्य लिएर बिक्री भईरहेको पनि देखिन्छ ।
कागजी रुपमा मल आएको र गएको तथ्यांकको भरोशामा बस्नु भन्दा पनि किसानले मलकालागि भोग्नु परिरहेको समस्यालाई दृष्गित गरी स्थलगत रुपमा नै जानकारी लिँदै बितरणको व्यवस्थामा सुधार ल्याउन जरुरी छ ।