• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व आउने क्रममा छन् । यस्तो समयमा बजारमा किनमेल गर्नेहरुको चहलपहल पनि बढ्ने गर्दछ ।
किनमेल गर्नेहरु बढ्दा ब्यापारिक कारोबार पनि बढ्नु स्वाभाविकै हो । तर यस्तै चहलपहलका समयमा खाद्य पदार्थमा मिसावट गर्ने, नक्कली सामान बेच्ने, म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गर्ने सम्भावना पनि बढ्ने कुरालाई नकार्न सकिदैन । यसका अतिरिक्त सामानको जथाभावी मूल्य बढाउने, कालोबजारी गर्ने सम्भावना पनि बढ्ने भएका कारण शुक्षम रुपले बजार अनुगमनको आवश्यकता पनि यस्तै समयमा आवश्यकता पर्नु स्वाभाविकै हो । सप्तरीका बजारहरुमा विगतमा अनुगमन गर्दा पनि अनेक प्रकारका कमजोरी र कैफियत भेटिएकै हो । त्यसैले सकेसम्म बजार अनुगमनलाई नियमितता दिँदा नै यस प्रकारका विकृतिहरु न्यूनीकरण हुन सक्दछन् । चाडवार्डको मौकामा मुनाफाखोरीलाई प्रोत्साहनको मौका दिने भन्दा पनि उपभोक्ताको हितलाई समेत ध्यानमा राखेर काम गर्न सकियो भने त्यस्तो कार्यको सराहना हुनेमा आशंका रहन्न । ठूला चाडपर्वको समय पारेर भन्सार छली र तस्करी जस्ता अवैध धन्दा पनि बढ्न सक्ने सम्भावना समेतलाई दृष्टिगत गरेर सुरक्षा योजना र बजार अनुगमन समेतमा जोड दिनु सान्दर्भिक तथा उपलब्धिमूलक हुनेछ ।
सप्तरीमा दशैं सुरु हुनु अगावै चाडवाड लक्षित विशेष सुरक्षा योजना विगतका वर्षहरुमा पनि लागु गरिएकै हो । यसपाली पनि उक्त योजना लागू गर्न सके सुरक्षा व्यवस्था सुदृढ बन्ने अपेक्षा लिन सकिन्छ ।