दिँदै आएको अनुदानमा आधार कटौति गरेपछि उखु किसानहरु त्यस बिरुद्ध आन्दोलनमा उत्रेका छन् । संघीय राजधानी काठमाण्डौं पुगेर उनीहरु उखुसहित प्रदर्शनमा उत्रेका छन् ।
गत आ.व. २०८१।०८२ को उखुको बक्यौता अनुदान रकम ७०रु. प्रति क्विन्टलका दरले भुक्तानी दिनुपर्ने, उखुको मुल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित हुनुपर्ने, अनुदान तत्काल उपलब्ध गराउनुपर्ने, उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने, उखु उत्पादक किसानहरुको माग छ । उखु उत्पादक संघ नेपालको नेतृत्वमा आन्दोलन गर्दै आएका किसानहरुले सरकारलाई आफूहरुको माग सम्बोधनका लागि दवाव दिँदै माईती घर मण्डलामा धर्ना समेत जारी राखेका छन् । मुलुक चिनी उत्पादनका दृष्टिले अझै पनि आत्मनिर्भर बन्न सकेको छैन ।
आत्मनिर्भरताका लागि उखु उत्पादन बृद्धि गर्नुपर्ने र यसका लागि किसानहरुलाई प्रोत्साहन गर्नुपर्नेमा दिएको सुविधालाई पनि कटौति गरेर निरुत्साहित तुल्याउन थालेपछि आत्मनिर्भर कसरी बन्न सकिएला? विभिन्न समस्यामा जकडिएका किसानहरुलाई समस्याबाट उकास्नका लागि काम गर्न आवश्यक रहेकोले अहिले उनीहरुले उठाएका माग सम्बोधन गरी घर फर्किने वातावरण बनाउन सरकारले पहल थाल्न जरुरी छ । पाएको सुविधालाई समेत सरकारले कटौति गर्दा त्यसको विरोधमा किसानहरु उत्रनुलाई अस्वाभाविक भन्न सकिन्न ।