राजविराज–रुपनी दश किलोमिटर सडक स्तरोन्नतिको काम थालेको वर्षौ वितिसक्यो । स्तरोन्नतिको लागि पहिलेको पिच भत्काएर पनि काम नगरिनाले जनताले राहत भन्दा पनि सास्ती खेप्नुपर्ने अवस्था आएको छ ।
सडकको काम त्यसै अलपत्र छोडिएको छ, पानी निकासको व्यवस्था समेत नगरिनाले उक्त सडक खण्डको मलेठमा सामान्य वर्षा हुँदा पनि सडक पोखरी बन्ने गरेको छ । जिल्ला सदरमुकाम राजविराज देखि पूर्व–पश्चिम राजमार्ग जोड्ने यस सडकमा सवारी साधनको चाप बढी रहेता पनि भत्केको सडकमा सवारी साधन चलाउन निकै सकसपूर्ण र जोखिमयुक्त बन्ने गरेको छ । बुधबार सडक निर्माणको माग गर्दै यस सडक खण्ड अन्तर्गतको रुपनीमा स्थानीयले केही समय चक्काजाम नै गरेका छन् । सडक निर्माणको ठेक्का लिएर पनि ठेकेदार कम्पनीले काममा गरिरहेको ढिलाई प्रति अनुगमन गरी छिट्टै काम सकाउनका लागि तदारुकता नदेखाएका कारणले नै सर्वसाधारणले अनावश्यक सास्ती खेप्नु परेको हो । सडक आसपासका क्षेत्रमा सुक्खायाममा धूलैधूलो तथा वर्षामा हिलोको समस्या छ । यही कारणले स्थानीयले शिघ्र सडक निर्माण गरिनुपर्ने, धूलो नियन्त्रण हुनुपर्ने माग लिएर यस अघि पनि कैयौं पटक आन्दोलन गरिसकेका छन् ।
जनतालाई परिरहेको समस्या र बढ्दो दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस सडकको काम शिघ्र सम्पन्न गराउनका लागि सम्बनिध्त निकायले चासो लिन आवश्यक छ ।