धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ खानेपानीको अभियानलाई सर्वाधिक महत्वका साथ अघि बढेका छन् ।
दसकौंदेखि पानीको अभाव भोग्दै आएको यस नगरपालिकामा पानी खुवाउने अभियान लिएर साम्पाङ अघि बढ्दा धराने जनताले पनि होस्टेमा हैंसे मिलाउँदै उनलाई गतिलो साथ दिएका छन् । सुन्दर सहर धरानमा दसकौंदेखि पानीको ठूलो अभाव रहँदै आएको थियो । यस अवधिमा धेरै जनप्रतिनिधिले धरानको नेतृत्व गर्ने अवसर पाएर पनि यो समस्याको हल गर्न सकिरहेका थिएनन् । धराने जनतालाई पानी खुवाएरै दाड्ने प्रतिबद्धता लिएर स्वतन्त्र उम्मेदवार बनेका साम्पाङलाई नै पछिल्लो चरणमा जनताले विश्वास गरे । फलतः आफ्नो प्रतिबद्धतालाई मूर्तरुप दिनका लागि उनी जनताकै साथ लिएर अहिले खानेपानीको व्यवस्थापनमा लागेका छन् । वर्षौदेखि काकाकुलको अवस्था भोग्दै आएका धरानबासीलाई यस अभियानले ठूलो राहत दिलाउने भएको छ । बीरगञ्ज महानगरपालिकामा यतिबेला झाडापखाला फैलेर ‘आउट ब्रेक’ को अवस्थामा पुगेको छ । खानेपानीको पाईपमा ढलको पानी मिसिनाले त्यसबारै हैजा फैलेको अनुमान गरिएको छ । पुराना खानेपानीका पाईप नफेरेको कारणले फुटेर पानी दूषित बनेको स्थानीयले बताउन थालेका छन् । संयोग नै भन्नु पर्दछ कि अहिले हैजा फैलेकै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नै अहिले संघीय खानेपानी मन्त्रीको जिम्मेवारी छन् । पुरानो शहर राजविराज नगर क्षेत्रको खानेपानी पनि निकै पुरानो संरचनाका माध्यमले सञ्चालित छ ।
पुराना खिला लागेका फलामे पाईपबाट नै अहिले पनि पानी वितरण भईरहेका कारण सोच्नु पर्ने अवस्था छ । दूषित पानीले हैजा फैलिने कुरालाई नकार्न नसकिने भएका कारण जनतालाई शुद्ध तथा स्वस्थ्यकर पिउने पानीको व्यवस्था मिलाउन सरकारले चासो लिन आवश्यक छ ।