झापामा करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान खहरे खोलामा विद्युतीय पोलबाट करेण्ट लगाएर माछा मार्ने क्रममा कन्काई नगरपालिका–१ का पंकज माझीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
अचेल करेण्ट लगाएर माछा मार्ने प्रचलन निकै बढेर गएको खोला तथा अन्य सार्वजनिक जलाशयमा यसरी करेण्ट लगाउने प्रचलन बढेको भएपनि त्यसलाई नियन्त्रण गर्न कसैको पनि ध्यान पुगेको देखिँदैन । एकातिर हामी जैविक विविधताका संरक्षणको कुरा गछौं अनि अर्कोतिर यस्तो कार्यलाई छुट दिईरहने हो भने उक्त लक्ष कसरी पूरा गर्न सकिएला? खोला तथा अन्य जलाशयमा करेण्ट लगाउँदा त्यहाँ रहेको जलचरहर मरेर जान्छन् । यो कुरा बुझ्दा बुझ्दै पनि यसरी नोक्सानी पु¥याउने कार्यलाई उचित मान्न सकिन्न । अहिले खोलाहरुमा कतिपय प्रजातिका माछा नै लोप हुने अबस्था आएको छ । तिनको संरक्षणका लागि चासो लिनु पर्नेमा उल्टै यसरी करेण्ट प्रवाह गरेर मार्ने कार्य गरिन्छ भने त्यसलाई कडाईका साथ नियन्त्रणको आवश्यकता छ । विगतको तुलनामा अहिले जलाशयकै अस्तित्व मेटिदै गएको छ । पानी सकेर जलाशय मासिन थालेपछि जलचरहरुमाथि संकट उत्पन्न भईरहेको छ ।
वातावरणीय सन्तुलनका दृष्टिले पनि लोप हुँदै गएका जीवहरुको अस्तित्व बचाउने तर्फ लागी पर्नुपर्ने अवस्थामा यस्ता अनपेक्षित गतिविधिलाई नियन्त्रण गर्ने सवालमा कुनै पनि हिसाबले छुट दिन मिल्दैन । सम्बन्धित निकायले यसतर्फ ध्यान पु¥याउनै पर्दछ ।