सप्तरी सदरमुकाम राजविराज र यस आसपासका बिग्रे भत्केका सडकको बेहाल अवस्थाका कारण जनताले पाउनसम्मको सास्ती पाउने गरेका छन् ।
ठेक्का लागिसकेका सडक समेत समयमा काम नभएकाले जनताले सास्ती खेप्नु पर्ने अवस्थाको अन्त्य हुन सकिरहेको छैन । राजविराज–रुपनी सडकको मलेठ खण्डमा वर्षौदेखि सडक विग्रेको छ । पानीको निकास समेत नबनाई अधुरो अवस्थामा छोडेका कारण सामान्य वर्षामा पनि त्यहाँ पानी जमेर पोखरीकै रुप लिने गर्दा पनि सम्बन्धित निकायले कुनै चासो लिएको छैन । यस्तै अवस्था छ राजविराज देखि पूर्वतर्फ हनुमाननगर सडक खण्डको पनि । राजविराज छिन्नमस्ता देखि गोविन्दपुरसम्म जोड्ने सडकमा यति बेला यात्रा गर्ने हो भने खाल्डैखाल्डा तथा हिलाम्य सडकमा पाउनुसम्मको सास्ते पाईन्छ । राजविराजकै बजरंगवली मन्दिर देखि पूर्व तर्फ कञ्चनपुर सडकको अवस्था पनि बेहाल छ । सडक मर्मतको माग उठाएर यहाँका स्थानीयले कैयौं पटक आन्दोलन नै गरिसकेका भएपनि कुनै सुनुवाई नहुनाले जनआक्रोश बढ्दो छ । विकासको फेदरिस्त प्रस्तुत गरेर नथाक्ने सरकार तथा सम्बन्धि सरकारी निकायले देखाएको उदासीनता बुझिनसक्नुको रहेको भन्ने जनगुनासो उठ्न छाडेको छैन ।
ठेक्का लागेको सडकको काममा भईरहेको विलम्वप्रति स्थानीय जनप्रतिनिधि र प्रशासनले पनि कदम चाल्नु पर्ने आवश्यकता छ । यसैगरी छुट दिई राख्ने हो भने यस्तो पाराले काम सम्पन्न हुन अझै वर्षौ नलाग्ला भन्न सकिन्न ।