सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपराका एक दम्पतिले शनिबार राती करेण्ट लागेर ज्यानै गुमाए । स्थानीय बद्री सरदार र उनकी पतनी विमला देवीको करेण्ट लागेर मृत्यु भएको हो ।
खेतमा काम गरी फर्कने क्रममा नजिकै महेन्द्र सरदारको खेतमा हात्तीको प्रवेश रोक्नका लागि लगाईएको जिआई तारमा प्रवाहित करेण्ट लाग्नाले ती दुईको ज्यान गएको बताईएको छ । खेतमा यसरी करेण्ट लगाउँदा त्यसमा जनावर मात्र नभई मानिस पनि पर्न सक्छन् भन्ने कुरामा विचार नगरिएका कारण यस्ता दुर्घटना हुने गरेका छन् । गत वर्ष पनि खेतमा लगाएको करेण्टमा परेर एउटा हात्ती परेको थियो । खासगरी किसानहरुले गाएको बालीमा रातीको समयमा ज·ली जनावर पसेर क्षति पु¥याउने गरेका कारण कतिले रातीराती करेण्ट लगाउने गरेका छन् । जङ्गली जनावरबाट जनताको जिउधन सुरक्षित राख्नका लागि सरकारले आवश्यक उपाय अपनाउनु पर्ने हो । यस विषयमा समय–समयमा ध्यानाकर्षण नगराईएको पनि होईन । तर काम नभएका कारण जनताले कष्ट र नोक्सानी उठाउनु परिरहेको छ । जङ्गली जनावरबाट सुरक्षा भएन भनेर जथाभावी करेण्ट लगाउनु पनि उपयुक्त मान्न सकिन्न । शनिबार पिपरामा भएजस्तै दुर्घटना अन्यत्र पनि हुन सक्छ भन्ने तर्फ ध्यान दिएर यस प्रकारको कार्य रोक्न आवश्यक छ । जथाभावी हुकिंग गरेर खेतमा मोटर चलाउने गरेको पनि भेटिन्छ ।
एउटाले यसरी गरेको विद्युत दुरुपयोगका कारण अर्को व्यक्तिको ज्यान पनि जान सक्छ भन्ने कुरा बुझेर यस्ता कार्य रोक्न आवश्यक छ ।