मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार एक दुःखद तथा निन्दनीय घटना भयो । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणका लागि जग्गाको सीमांकन गर्ने क्रममा वकीलहरुको एक समूह आएर पत्रकारहरुमाथि नै हातपात गरेपछि अहिले त्यसको चौतर्फी आलोचना सुरु भएको छ ।
महासंघको भवन निर्माण गरिने जग्गा गुठी संस्थानसित सम्झौता गरी २० वर्षका लागि लिजमा लिने सहमतिका साथ काम अघि बढाउने क्रममा वकीलहरुको समूह आएर पत्रकारहरुमाथि अनावश्यक मुठभेड गरेका छन् । उनीहरुले गरेको हातपातका कारण महासंघका मधेशप्रदेशका महासचिवको खुट्टा नै भाँचिएको छ । अन्य केही पत्रकारहरुलाई पनि कुटपिटबाट चोट लागेको छ । वकीलहरुले महासंघले गुठीसितको सम्झौता तहत लिजमा लिएको जग्गा आफूहरुको पार्कि· स्थल रहेको भन्दै दावी गरेका छन् । यस्तो दावी गर्नुका पछाडि उक्त जग्गा उनीहरुको रहेको भन्ने कुराको पोख्त प्रमाण रहनु पर्ने पहिलो आवश्यकता हो ।
प्रमाणका आधारमा अघि बढ्ने न्यायिक उपचारमा जानेतिर लाग्नु भन्दा पनि बाहुबली शैलीको प्रदर्शनमा उत्रदै पत्रकारहरुलाई भौतिक आक्रमण गर्ने जुन दुष्कर्म भएको छ, त्यसको प्रकृति भत्र्सना योग्य छ । विद्दतवर्गबाट प्रदर्शन गरिएको यस्तो हर्कत कुनै पनि हिसावले उपयुक्त हुन सक्दैन ।