• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आज रक्षाबन्धन हिन्दुहरुको पौराणिक पर्वका रुपमा चिनिदै आएको यस पर्वले राजा वलीलाई सर्वप्रथम बाँधिएको रक्षा सुत्र र त्यसबाट उनको संरक्षण भएको कुरालाई स्मरण गराउँछ ।
‘राखीको पर्व’ का रुपमा समेत चिनिने यस पर्वले दाजुभाई र दिदीबहिनी बीचको हार्दिकतालाई जीवन्त तुल्याउने गरेको छ । राखी बाँधेर दिदीबहिनीले दाजु भाईको रक्षा होस् भन्ने कामना गर्नु र दाजुभाइले दिदीबहिनीको सुरक्षाको बचन दिने परम्पराले सम्बन्धमा अझै प्रगाढता थप्दै आएको छ । ‘जनै पूर्णिमा’ समेतको नामबाट चिनिएको यस पर्वमा वैदिक साधनामा लागेका सबै देवता, ऋषि तथा आफ्ना पूर्वजहरुलाई स्मरण गरी विधिपूर्वक रक्षासूत्र (जनै) मन्त्र जप गरी लगाईने प्रचलन छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वमित्र, गौत्तम, जमदग्नि, बशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा र तर्पण गरिने भएकाले आजका दिनलाई ‘ऋषितर्पणी’ समेत भन्ने गरिएको हो । सबै तागाधारीले आफ्नो जनै आजका दिन जनै फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । एकाबिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा स्नान गर्ने भएकाले यसलाई ‘श्रावणी स्नान’ पनि भन्ने गरिएको हो । आत्माको शुद्धिकरण तथा शरीरको रक्षाका लागि पुरोहितको हातहाट नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ । पूर्वीय आध्यात्म दर्शनका अनुयायी हिन्दुहरुको धर्ममा विभिन्न पर्वहरु पर्ने गर्दछन् । 
रक्षाबन्धन पनि यिनै मध्येको एक महत्वपूर्ण पर्व हो । यस्ता पर्वले केही न केही कल्याणकारी तथा मार्गदर्शक सन्देशलाई प्रवाह गर्दै आएका हुन्छन् । तिनको अनुशरण गर्नाले नै हामीले आफ्नी पहिचानका साथै परम्परागत रुपले चल्दै आएका यस्ता पर्वको मौलिकतालाई जीवन्त राख्न सक्दछौं । महत्वपूर्ण पर्व रक्षाबन्धनको सबैमा मङ्गलमय शुभकामना ।