सप्तरीबाट मदिरा तस्करी ब्यापक रुपले बढेको छ । ठूलो परिमाणमा भारत तर्फ निकासी गर्न लागेको मदिरा नियन्त्रणमा लिएको दुई साता नबित्दै मंगलबार राती राजगढ गाउँपालिकाको कमलपुरमा प्रहरी र मदिरा तस्करहरुको मुठमेडका क्रममा एक जनाको ज्यानै गएको छ ।
तस्करहरुले भारततर्फ मदिरा निकासी गर्न लागेको जानकारी पाउनासाथ प्रहरीले गरेको सर्च अप्रेशन क्रममा तस्करहरुसित मुठभेड भएको हो । मदिरा तस्करीमा संलग्न गिरोहले जरा गाडेर बसेका कारण जतिसुकै अवैध मदिरा नियन्त्रणमा लिएपनि यो धन्दा रोकिएको छैन भन्ने यसबाट पुष्टी भएको छ । भारतको बिहार राज्यमा मदिरा निषेध गरिएका कारण सीमावर्ती क्षेत्रमा मदिरा तस्करी फस्टाएको हो । वर्षौ देखि मदिरा तस्करी चलेको र पटक–पटक प्रहरीले त्यस्तो मदिरा नियन्त्रणमा लिए पनि यसको कारोबार नरोकिएका कारण तस्करहरुले बलियो रुपमा जरा गाडेको रहेछन् भन्ने बुझिन्छ । एकातिर राजस्व मार्ने र अर्कोतिर यसरी अवैध धन्दा चलाउने कार्य कदापि स्वीकार्य हुन सक्दैन ।
तस्करहरुको गिरोह बलियो बन्दै गएको छ भन्ने बुझेपछि प्रहरीले पनि त्यसका बिरुद्ध अझै सक्रिय भई लाग्नुपर्ने आवश्यकता छ । अन्यथा यो प्रकृति अझै बढेर जाने सम्भावनालाई नकार्न मिल्दैन ।