अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने प्रहरीको प्रमुख जिम्मेवारी हो । ‘सत्य सेवा सुरक्षणम्’ को मूलमन्त्रका साथ खटेका प्रहरीले निरन्तर यसका लागि दत्तचित्त भई काम गर्दै आएका छन् । यति हुँदाहुादै पनि समाजमा अपराध भई नै रहेको पाईन्छ ।
प्रहरीका लागि यो अवश्य पनि चुनौतिको विषय बन्ने गरेको छ । अपराध गरेर अपराधी उम्कन सफल भयो भने उसले फेरि पनि आपराधिक काम गर्छ । पीडितलाई न्याय दिलाउने दृष्टिकोणबाट पनि अपराधी पत्ता लगाई उसलाई कानूनी दायरामा ल्याउनै पर्ने हुन्छ । प्रहरी अपराधको अनुसन्धान तथा अपराधीको खोजीमा लागेर फरार अपराधी पत्ता लगाउन सकेमा यसलाई पनि प्रहरी संगठनको सफलता नै मानिन्छ । शान्ति सुरक्षाको लक्ष हासिल गर्नमा अपराधी पक्राउ पर्नै पर्ने हुन्छ । यसै क्रममा सप्तरी प्रहरीले गत जेठमा सुरुमा नगरपालिका–८ का कन्तलाल चौधरीको हत्यामा संलग्न डाँका समूहका नौ जनालाई पक्रउ सफल भएको छ । सोमबाट पत्रकार सम्मेलनै गरेर यस बारे जानकारी दिईएको छ । निरन्तर ४८ दिनको अनुसन्धान पछि प्रहरी उनीहरुलाई पक्रन सफल भएको छ भने अनुसन्धानका क्रममा लुटिएका गरगहना, नगद तथा घटनामा प्रयोग गरिएका हतियार समेत नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । एउटा अपराधमा संलग्न व्यक्तिहरुलाई पक्रन प्रहरी सफल हुनुलाई सकारात्मक कार्य नै भन्नु पर्ने हुन्छ । सप्तरीमा भएका अन्य कतिपय आपराधिक घटनाका अपराधीहरु अहिले पनि फरार नै छन् ।
तिनलाई समेत पक्रेर कानूनी कारवाही चलाउन सकियो भने प्रहरीको थप सफलता मानिनेछ । फरार अपराधीहरु पक्रनाका साथै थप आपराधिक घटना हुनु नपाओस् भनी अपनाइने सक्रियताले सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउने छ ।