मधेश प्रदेशमा यस वर्ष खडेरी परेपछि केन्द्र सरकारले त्यहाँ तत्कालै डीप बोरिंग जडानको योजना ल्याउने भनिएको छ ।
करीब एक साता अघि मधेशमा खडेरीको अवस्था बुझ्न भनी प्रधानमन्त्रीको टोली त्यसतर्फ गएपछि तत्कालै पाँच सय डीप बोरिंग लगाउने कुरा बताएपछि यस बारेका फरक धारणा आउन थालेका हुन् । तराई–मधेशका जिल्लाहरुमा अहिले खडेरी सँगै पिउने पानीको पनि एकै साथ अभाव देखिन थालेको छ । भूमिगत जलसतह घटेर तलतिर जान थालेका कारण इनार, ट्वुवेल सुक्न थालेपछि खानेपानीको पनि अभाव उत्पन्न भएको हो । डीप बोरिंगले जमिन मुनिको पानी ठूलो परिमाणमा निकाल्ने भएका कारण भू–जलको अत्यधिक दोहन भएर जाने जानकारहरुको कथन छ । अत्यधिक भू–जलको दोहनले पानीको सतह झनै तल जाने, पानी निकाल्दा जमीन कमजोर भएर धसिने (भासिने) सम्मको जोखिम रहने बताईन्छ । भू–जलको अत्यधिक दोहनबाट भएर प्राकृतिक जलचक्र बिग्रेर जाने, पोखरी, ताल, सिमसार, नदी सुक्ने र यसले गर्दा पशुपंक्षी, वनस्पतिमा समेत संकट उत्पन्न गर्न सक्छ ।
तसर्थ जलसंकटका लागि डीप बोरिंगलाई समाधानको उपाय बनाउने तिर लाग्नु भन्दा पनि वर्षाको पानी संकलन गर्ने, जमीन मुनि जलको पुनर्भरण गर्ने, पोखरी, कुवा, इनार, तालतलैयाको संरक्षण गरी पानी रिचार्जको व्यवस्था मिलाउन सकियो भने भूमिगत जलसतहलाई सुरक्षित राख्नमा पनि सघाउ पुग्न सक्नेछ । यसका साथै बढ्दो चुरेको दोहन उपर नियन्त्रण तर्फ पनि कडाईका साथ लाग्नुपर्ने आवश्यकता छ । जथाभावी गरिने डीप बोरिंगको नियमन तर्फ पनि ध्यान दिनु सान्दर्भिक हुनेछ ।