मधेश प्रदेशमा उत्पन्न खडेरी र पानीको संकटका बारेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिन्ता व्यक्त गर्दै फेसबुकमा लेखेका छन् ।
जल, जंगल र जमीनको उचित व्यवस्थापन गर्न नसक्दाको परिणाम अहिले भोग्नु परिरहेको आशयका साथ उनले खाद्यान्नको भण्डारकै रुपमा चिनिने मधेश सुक्खाग्रस्त हुन पुगेको प्रति चिन्ता व्यक्त गरेका छन् । पहिले देखि नै नसोच्ने अनि समस्याले घेरिसकेपछि मात्र तात्ने प्रवृत्ति प्रति व्यंग्य गर्दै डा. भट्टराईले ‘यस्तो प्रवृत्ति कहिलेसम्म?’ भन्दै प्रश्न गरेका छन् । मधेशमा जलसंकट उत्पन्न हुनाको एक प्रमुख कारणका रुपमा भट्टराईले उल्लेख गरेको विषयलाई नै मान्न सकिन्छ । जल, जंगल र जमीनको उचित व्यवस्थापन त छैन नै । यसका साथै चुरेको ब्यापक दोहन भएका कारणले तराई–मधेशका जिल्लाहरुमा भूमिगत जलसतह घटेर तलतिर जाने क्रम बढ्दो छ । चुरेले वर्षाको पानीलाई भरणपूरण गर्ने ठूलो भूमिका खेल्दै आएको र त्यसकै फलस्वरुप मधेशमा भूमिगत जलसतह सुरक्षित रहँदा पानीको अभाव टर्दै आएको थियो । चुरेविनाश बढेसँगै पानी अभावका कारण केही वर्ष अघिदेखि नै देखापर्दै आएका हुन् । तर समयमै नचेत्दाको परिणामका रुपमा यो अवस्था आएको कुरा यतिबेला निःसंकोच भन्न सकिने भएको छ । राजनीतिक संरक्षण, प्रभाव र पहुँचका बलमा चुरे उत्खन्न गर्ने, नजिकै क्रसर स्थापना गरेर गिट्टी तयार गर्ने अनि ढुंगा, बालुवा, कंक्रिट बेचेर पैसा कमाउन पल्ेका गिरोहकै कारण जनताले पिउने पानी सम्म नपाउने अवस्था आएको छ ।
टोलटोलमा ट्यांकरले पानी पु¥याउनु पर्ने अवस्था आएको बेलामा विभिन्न योजना बनाए पनि यसबाट तत्कालै समस्याको समाधान निस्कन नसक्ने निश्चित नै छ । काम गर्नुपर्ने समयमा वास्ता नगर्ने, चुरे दोहनप्रतिको उदासीनता जस्ता कारणले यति बेला गमभीर संकट देखा पर्दैछ । आगलागी भएपछि मात्र कुवा खन्नेतिर लाग्ने सोच कहिलेसम्म पाल्ने?