• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाइरको सभामा आएनन् गाउँसभा सदस्य

अग्नीसाइरको सभामा आएनन् गाउँसभा सदस्य
न्यूज टुडे
राजविराज,०९ असार । 
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले सोमबार बोलाएको गाउँसभामा एकजना पनि गाउँसभा सदस्य उपस्थित नभएपछि सभा अन्योल बन्न पुगेको छ ।  स्थानीय सरकार संचालन ऎन २०७४ विपरीत गाउँसभाको कुनैपनि चरण पुरा नगरी अध्यक्षले  गाउँसभा आव्हान गरेपछि सभा सदस्यहरुले बहिष्कार गरेका हुन् । 
स्थानीय सरकार संचालन ऎन २०७४ अनुसार गाउँसभामा पुग्नुभन्दा पहिले विभिन्न चरण पूरा गर्नुपर्ने प्रावधान विपरीत एकलौटी मनोमानी गरि अध्यक्षले गाउँसभा आव्हान गरेकाले बहिष्कार गर्नु परेको एक वडा अध्यक्षले बताए । 
उनका अनुसार गाउँसभामा पुग्नुभन्दा पहिले राजस्व परामर्श समिति,श्रोत अनुगमन तथा सीमा निर्धारण समिति,योजना तर्जुमा समिति,वडा स्तरीय योजना संकलन, वडा स्तरीय योजना छनौट, नागरिक सहभागीता,लागत साझेदारी लगायतका संघसंस्थाहरुद्वारा सञ्चालित कार्यक्रमहरुको बारेमा छलफल तथा परामर्श सेवा, कर्मचारी व्यवस्थापन जस्ता चरणहरु पूरा गर्नुपर्ने हुन्छ । 
गाउँसभा बहिष्कार गर्नेसहितको विभिन्न माग सार्दै उपाध्यक्षसहित ६ जना वडा अध्यक्षले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दिनानाथ चौधरी । फोटो : न्यूज टुडे
तर यी विषय्हरुमा छलफल तथा चरणको कुनै प्रक्रिया नै नपुर्‍याइ एकाएक एकलौटी रुपमा सिधै गाउँसभाको कार्यलाई अगाडि बढाउनु कानुनी व्यवस्थाको विपरीत अपारदर्शी रहेकोले अध्यक्षको निरंकुश शैली र सर्वसत्तावादी कदमको विरोधमा उत्रिन बाध्य भएको गाउँसभा सदस्यहरुको भनाइ छ । 
भव्य तयारी गरि अध्यक्षले बोलाएको १५ औं गाउँसभामा गाउँसभा सदस्यहरु सहभागी नभएपछि सबै कुर्सी खाली पाइएको थियो ।  गाउँसभा पूर्वको चरणहरुमा कार्यपालिका तथा सभा सदस्यहरुको वीच कुनै किसिमको छलफल एवम् निर्णय समेत नभएकोले यस सम्बन्धमा समन्वय र सहकार्य गरेर मात्र गाउँसभा आव्हान गर्न अध्यक्षलाई लिखित रुपमा ध्यानाकर्षण गर्दा समेत सुनुवाइ नभएपछि आफुहरु सहभागी नभएको गाउँसभा सदस्यहरुको कथन छ । 
प्रक्रिया पूरा गरि गाउँसभा बोलाउन पटकपटक अध्यक्षलाई सामुहिक रुपमा भेटेर कुरा गर्दा गाउँपालिकामा पनि वडा छ र ?  भन्दै तर्किएको वडा नम्बर ३ का वडा अध्यक्ष  गोपाल प्रसाद चौधरीले बताए । 
६ वटा वडा रहेको गाउँपालिकामा  १४  कार्यपालिका सदस्य तथा ३४ जना गाउँसभा सदस्य छन् ।  गाउँसभामा अध्यक्ष चौधरीको मात्र एकल उपस्थिति भएपछि सभा अन्योल भएका छन् । 
मिति २०८२असार ०२ गते गाउँपालिकाको आधिकारिक फेसबुक पेजबाट गाउँपालिका अध्यक्षले सूचना जारी गर्दै २०८२ असार ०९ गते विहान ११ बजे १५ औं गाउँसभा आह्वान गरेका थिए ।  सोही अनुसार गाउँसभाको तयारी भएपनि कोही पनि सभा सदस्यहरु उपस्थित थिएनन् ।