शिवप्रसाद आचार्य
फत्तेपुर, ३१ जेठ ।
सप्तकोसी नगर खेलकुद बिकास समितिकाद्वारा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा संचालित दोश्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गाईघाट युनाइटेड क्लब उदयपुरले हात पारेको छ । स्थानीय सहिद स्मृति रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा दमक फुटबल एकेडेमी झापालाई १-२ गोलान्तरले पराजित गर्दै गाइघाटले उपाधि जितेको हो ।
फाइनल खेल शुरु भएको ३ मिनेटमा झापाका जर्सी नम्बर ८ का किस्मत लिम्बुले डिबक्स एरियामा पाएको फललाई सदुपयोग गर्दै पेनाल्टी मार्फत १ गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । दोश्रो हापको खेल शुरु भएको ३ मिनेटमा झापाका जर्सी नम्बर २ का खेलाडीले आत्मघाती गोल गर्दै खेललाई १-१ को बराबरी पुर्याएका थिए । मध्यान्ह पछिको २८ औं मिनेटमा गाईघाटका जर्सी नम्बर १४ का सुनिल खडकाले पाएको फ्री किकलाई सदुपयोग गर्दै १ गोल गरि टिमलाई २-१ गोलान्तरले जित हाँसिल गरे।
प्रतियोगिताको म्यान अफ द म्याच गाईघाटका जर्सी नम्बर ९ का शिशिर लेखी घोषित भए भने उत्कृष्ट गोलकिपर गाइघाटका अनिल मगर घोषित भए । यसैगरी बेस्ट प्लेयर दमकका निश्च्ल बस्नेत घोषित भए भने प्रतियोगिताको सर्बाधिक गोलकर्ता झापाका जर्सी नम्बर ८ का किस्मत लिम्बू घोषित भए ।
जीतसंगै गाईघाटले नगद २ लाख ७० हजार हात पारेका छन् भने उपविजेता दमक झापाले १ लाख ३५ हजार प्राप्त गरे ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा आयोजित प्रतियोगिता समापन समारोहमा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, जिल्ला खेलकुद बिकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरे ।
गत जेठ २४ गते देखि संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्लब सुनसरी,बैंगाडावर युवा क्लब धनुषा,राष्ट्रिय जागृति क्लब सुनसरी,बसाहा क्लब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्लब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएका थिए ।