न्यूज टुडे
राजविराज, ०७ माघ ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष राम नारायण विश्वासले अदालतमा सूचना लिन सकस हुने गरेको गुनासो गरेका छन् । नेपाल कानून व्यवसायी परिषद् कुपण्डोल ललितपुर तथा मधेस प्रदेश कानून व्यावसायी परिषदद्वारा राजविराजमा आयोजित १० दिवसीय मुलकी देवानी संहिता कार्यविधि प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
नवोदित कानून व्यावसायीको क्षमता अभिवृद्धिका लागि आयोजित प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै उपाध्यक्ष विश्वासले उच्च अदालतबाट सूचना दिन आलटाल गरेको आरोप लगाए ।
उनले प्रहरीमा मुद्दा दर्ता नगर्ने तथा अदालतबाट परमादेश गरेपछि मुद्दा दर्ता प्रहरीले गर्ने विषयलाई लिएर सूचना लिन उच्च अदालत राजविराज-जनकपुर पटकपटक धाउदा समेत सूचना नपाएको गुनासो गरे ।
‘सूचना माग गर्न उच्च अदालत रजिस्ट्रारकोमा गएँ तर पाइनँ’उपाध्यक्ष विश्वासले भने,’ आफुले उठाएको विषयमा रजिस्टार र कानून व्यवसायीलाई प्रतिक्रिया दिन अनुरोध गर्दा कसैले क्यामरा बोल्न नमान्दा त्यो विषय समाचार बन्न सकेन ।’
उनले पत्रकारलाई सहज सूचना उपलब्ध गराइदिन न्यायाधीश तथा कानून व्यवसायीसंग आग्रह गरे ।
उपाध्यक्ष विश्वासको गुनासो सम्बोधन गर्दै उच्च अदालत राजविराज-जनकपुरका मुख्य न्यायाधीस वामदेव ज्ञवालीले पत्रकारसहितका आम नागरिकलाई सहज सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘अदालतबाट भएका गतिविधिलाई पारदर्शी गर्न सूचना अधिकारी मार्फत दिन मिल्नेसम्म सूचना उपलब्ध गराउँछौ’ मुख्य न्यायाधीश ज्ञवालीले भने,’यति धैरै जनाको वीचमा सूचना दिएन भनी कुरा उठाइ नदिंदा हुन्थ्यो, सूचना अधिकारी र रजिस्ट्रारले सूचना नदिएको भए मलाई भन्दा पनि हुन्थ्यो ।’
उच्च अदालतबाट सूचना उपलब्ध गराउने मामिलामा कमी हुन नदिने विश्वास दिलाउँदै उनले कतैबाट कमीकमजोरी भएको भए सुधार गरेर जाने बताए ।