न्यूज टुडे
राजविराज, ३० मंसिर ।
नेपाली काँग्रेसका उपसभापति एवम् संघीय कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले राजतन्त्र फर्किने कुरा परिकल्पना भन्दा बाहिरको विषय रहेको बताएका छन् । नेपाली काँग्रेस सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उल्टोदिशातर्फ हिड्ने कुरो परिकल्पनासम्म गर्न नसकिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले केही समुहले राजतन्त्र फर्किन्छ भन्ने भ्रमको औचित्यता नरहेको स्पष्ट पारे । उनले राजतन्त्र आउने र अहिलेको व्यवस्था परिवर्तन गर्ने कुरा सोच्नै नसकिने टिप्पणी गरे ।
“खोला उल्टो बगेको देख्नु भएको छ, बिरुवा रोपेपछि उल्टो जरा गएको काहीँ देख्नु भएको छ, गुरुङले भने, समाप्त भएको राजतन्त्र आउँछ भने विषय पनि यस्तै हो, अगाडि बढेपछि फर्कनु हुँदैन, यो विषय परिकल्पना भन्दा बाहिरको कुरो हो । “
मन्त्री गुरुङले कसैले गरेको कमि कमजोरीको कारण व्यवस्थालाई नै गलत भन्नू नमिल्ने जिकिर गरे ।
नेताहरूले गरेको कमि कमजोरीको नाममा व्यवस्था खराब भन्नू भयंकर गलत हो, मन्त्री गुरुङले भने, हामीबाट पनि कमिकमजोरी भएको होला त्यसलाई स्वीकार गर्नुसक्नुपर्छ र सुधार गरेर जानुपर्छ, जनताको व्यवस्था बनाउनु पर्छ ।“
मन्त्री गुरुङले बर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा तदारुकताको साथ लागेको उल्लेख गरे । उनले सरकारको कामको प्रगति देखेर ईष्र्या जलन हुनेहरुले सरकार ढल्छ र गठबन्धन भत्किन्छ भन्दै गलत हल्ला फिंजाएको बताए । गठबन्धनको सरकार पुरै पाँच बर्ष टिक्ने समेत उनले दाबी गरे ।
नेपाली काँग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनाउँदा पार्टीमा लामोसमय योगदान गरेको र कहिल्यै अबसर नभेटेकालाई अगाडि बढाउने उनले स्पष्ट पारे ।
मन्त्री गुरुङले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि विधेयक ल्याएको जानकारी दिदै विधेयक समितिमा छ्लफलको क्रममा रहेकाले छिटै प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।
रामराजा स्वस्थ्य विज्ञान प्रतिष्ठान राष्ट्रिय गौरवको योजना भएको बताउदै उनले प्रतिष्ठान निर्माण कार्यमा सरकार गम्भीर भएकोले आन्दोलन गरिराख्नुको औचित्यता नरहेको टिप्पणी समेत गरे ।
पत्रकार सम्मेलनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाइली, प्रदेश सभा सदस्य निलम कुमारी रजक, जिल्ला अध्यक्ष रामदेव साहलगायतका नेपाली काँग्रेसका जिल्ला स्तरीय नेताकार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।