• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रुपनी गाउँपालिकाका कर्मचारीहरु धर्नामा

रुपनी गाउँपालिकाका कर्मचारीहरु धर्नामा
न्यूज टुडे
राजविराज, २६ मंसिर ।
पाँच महिनादेखि तलव नपाएको भन्दै रुपनी गाउँपालिकाका कर्मचारीहरु धर्नामा बसेका छन् ।  तलव माग गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले मंगलबार गाउँपालिका अगाडि २ घण्टा धर्ना दिएका हुन् ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै मंगलबारदेखि गाउँपालिका अगाडि धर्ना बस्ने चेतावनी दिएको कर्मचारीहरु विहान १० बजेदेखि १२ बजेसम्म धर्ना बसेका छन् ।
पुर्व निर्धारित कार्यक्रम अनुसार पालिका अगाडि  २ घण्टा धर्ना बसेको रुपनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए ।
पालिका अध्यक्ष यादवले तलव कोलिनिकाबाट पालिकाको खातामा आइसकेको र प्रमुख प्रशासकीय अधिकृत आउनसाथ निकासा गरि तलव खुवाउने प्रतिबद्धता जनाएपछि धर्ना कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य शाखा प्रमुख यादवसहित मातहतका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख र वडा सचिबहरुले आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै सोमबारसम्म तलवभत्ता उपलब्ध नगरिए मंगलबारदेखि कामकाज ठप्प पारी धर्ना बस्ने चेतावनी दिएका थिए ।
“२०८० श्रावणदेखि तलब नपाउँदा घर चलाउन अति समस्या परिरहेकोले हालसम्मको तलवभत्ता र कार्यालय संचालन खर्च  २०८०मंसिर २५ गतेसम्म निकासा हुने व्यवस्था मिलाई दिन भन्दै उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।
 २०८०मंसिर २६ गतेदेखि सबै वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरु बन्द गरि गाउँपालिकामा आएर धर्ना बस्ने उनीहरुले ज्ञापनपत्र मार्फत चेतावनी दिएका थिए ।
मासिक रुपमा पाउनुपर्ने तलव,भत्ता नपाएको स्वास्थ्य संस्थाहरुमा अति आबश्यक औषधिहरु आपूर्ति नभएको तथा स्वास्थ्य संस्था संचालन बापत पाउनुपर्ने प्रशासनिक खर्च उपलब्ध नभएको कर्मचारीहरुको दिनचर्या निकै कठिनाइ हुँदै गएकोले अविलम्ब तलव व्यवस्था गर्न उनीहरुले माग राखेका थिए ।
बैंकबाट लिएको ॠणको किस्ता तिर्न नपाउँदा घरजग्गा लिलाम हुने अबस्थामा पुगेको, विद्यालयमा पढ्ने बालबालिकाहरुको शुल्क तिर्न नपाउँदा विद्यालयहरुबाट दवाब खेप्नु परेको साथै बिरामीहरुबाट गालिगलौज खेप्नु पर्ने अवस्था आएकोले समयमै तलव भत्ता औषधि आपूर्ति तथा प्रशासनिक खर्च उपलब्ध हुने सुनिश्चित नभएकोले संघर्षमा उत्रिन बाध्य भएको कर्मचारीहरु बताउँछन् ।
२०८०मंसिर २६ देखि आकस्मिक स्वास्थ्य सेवाबाहेक सम्पुर्ण स्वास्थ्य सेवा बन्द गरि स्वास्थ्यको सम्पुर्ण कर्मचारी गाउँपालिका अगाडि धर्ना बस्ने चेतावनी दिएका थिए ।
कर्मचारीहरुले बुझाएको ज्ञापनपत्रमा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, ६ वटै वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालय सप्तरीलाई बोधार्थ दिइएको थियो ।
आन्तरिक विवादका कारण रुपनी गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गर्न नसक्दा कर्मचारीहरुले समयमा तलब भत्ता पाउन सकेको छैन भने जेष्ठ नागरिक, बालबालिका, अपाङ्गलगायतका सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरु सुविधाबाट बन्चित हुनुपरेको छ ।