न्यूज टुडे
राजविराज,१९ असोज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र जर्मनीका राजदूत डा. थोमस प्रिन्ज विच भेटघाट भएका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरु विच शिष्टाचार भेटघाट भएका हुन् ।
भेटघाटमा शुभकामना आदानप्रदानपछि उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध
स्थापना भए पश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्धपूर्ण रहेको र नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिदै आएको बताए ।
‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको
सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–जर्मनी सम्बन्धका आधार स्तम्भ हुन्’ उपराष्ट्रपति यादवले भने,जर्मनी नेपालको प्रमुख विकास साझेदार हो । नेपालले सामाजिक आर्थिक विकासका सबालमा जर्मन सरकारबाटसन् १९६१ देखि सहायता प्राप्त गर्दै आएको छ ’उनले भने ।
उपराष्ट्रपति यादवले कोभिड–१९ संक्रमणको समयमा मूल्यवान सहयोग प्रदान गरेकोमा जर्मनी प्रति आभार समेत व्यक्त गरे ।
‘जर्मनीको युरोपेली संघमा अत्यन्तै प्रभावशाली भूमिका रहेको छ । हामी नेपाल र युरोपेली संघ बीचको बढ्दो सहकार्यको स्वागत गर्दछौँ, ’ उनले भने, ‘दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न हामी प्रतिबद्ध छौं । नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी आशावादी छौँ ।’
जर्मनीले बहुपक्षीय मञ्चहरुमा अन्तर्राष्ट्रिय मुद्दा जस्तै जलवायु परिवर्तनको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले आपसी हितका विषयहरुमा दुईपक्षीय र वहुपक्षीय मञ्चहरुमा सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गरे ।
भेटघाटमा राजदूत प्रिन्जले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि जर्मनीले निरन्तर सहयोग
गर्दै नेपालको ऊर्जा, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकासमा मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले
जर्मन सरकारले ८० जना नेपालीलाई व्यवसायिक प्रशिक्षणका लागि जर्मनी लगिएको जानकारी दिँदै यो क्रम अगामी दिनमा पनि जारी राख्दै यो संख्या ५ सय सम्म पुर्याउने लक्ष्य रहेको बताए ।