न्यूज टुडे
राजविराज, १५ असोज ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको तमाम समस्या अन्त्य गर्न समाजवादी शासन व्यबस्था जरुरी रहेको बताएका छन् ।
पन्ध्र दिने मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत राजविराजमा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा हुने सबैप्रकारको विभेद र भेदभाव अन्त्य नभएसम्म समृद्ध राष्ट्रको परिकल्पना गर्न नसकिने जिकिर गरे ।
समाजवादी व्यवस्थामा मात्र मधेशी, आदिवासी जनजाति, मुश्लिम, थारु, महिला, दलितलगायतका उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले देश परिवर्तनका लागि मुलुकको उत्थान चाहने भावना बोकेका राष्ट्र भक्त, र राष्ट्रवादी शक्तिहरुलाई समाजवादी अभियानमा गोलबद्व हुन आग्रह गरे ।
नेपाली जनताको गाँस, बास र कपाससहितको तमाम समस्या समाजवादी शासन व्यवस्थाले मात्र अन्त्य हुने जिकिर गर्दै कसैले भोकले मर्नुपर्ने र पैसाले तड्पिनु नपरोस् भन्ने उदेश्यका साथ समाजवादी पार्टी स्थापना गरेको बताए ।

वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुजीवादी व्यवस्थाले अहिले देशमा आर्थिक संकट उत्पन्न भएको बताए । उनले सुशासनसहितको समृद्ध राष्ट्र निर्माणका लागि दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि बैज्ञानिक समाजवादी क्रान्तिको आबश्यकता रहेको उल्लेख गरे ।
बर्तमान पुजीवादी व्यवस्थाले राष्ट्र भन्दा व्यक्ति धनी भएको बताउँदै उनले देशको बेरोजगारी समस्या समाधान गर्दै रोजगारी सिर्जना गर्नको लागी समाजवादी बाटो हिड्नुपर्नेमा जोड दिए ।

जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्षहरु राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, महासचिव घनश्याम भुसाल, सचिब राम कुमारी झाक्री, जगरनाथ खतिवडा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला सचिव शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत केन्द्रिय सदस्य एवम् मधेश प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले गरे ।