• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

कामै नगरी पेडा प्रबर्द्धन शिर्षकमा १४ लाख भन्दा बढीको भुक्तानी

कामै नगरी पेडा प्रबर्द्धन शिर्षकमा १४ लाख भन्दा बढीको भुक्तानी

राजकुमार साह
कञ्चनपुर, २४ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले पेडा प्रबर्द्धन शिर्षकमा कामै नभएका एक कार्यक्रममा लाखौं रकम भुक्तानी गरेको पाइएको छ । पुर्णिमा सप्लायर्स एण्ड ट्रेडर्स बेलका नगरपालिका स्कुल टोल, उदयपुरलाई १४ लाख ९० हजार रुपैयाँ कामै नगरी भुक्तानी दिएको खुलासा भएको हो ।

नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र एक शाखा अधिकृतको मिलोमतोमा कामै नभएको कार्यक्रममा १४ लाख ९० हजार भुक्तानी गरेको पालिकाद्वारा प्राप्त तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्ष २०७९÷८०मा पेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गतका संघीय सरकारको शसर्त अनुदानका १५ लाख बजेट बिनियोजन गरेको थियो । पालिकाको तथ्यांक अनुसार बजेट सञ्चालनको लागि पालिकाले खरिद ऐन २०६४ बिपरित ,साथै कुनै किसिमको सार्वजनिक सुचना विना नै भुक्तानी गरेको छ ।
यस बारे पालिकाको सम्बन्धित पशुपन्क्षी तथा भेटनरी शाखाका प्रमुख दिवाकान्त चौधरीले पेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गतको बजेट नियमले यस शाखाबाट हुनुपर्ने बताए । उनले उक्त बजेट कस्ले कुन प्रक्रियाबाट खर्च गरेर भुक्तानी समेत गरिसकेको बारे आफुलाइ कुनै जानकारी नरहेको बताए
पालिकामा कामगरेको एक निर्माण व्यवसायीले आफुले समयमै काम सम्पन्न गरेर सबै विल भौचर दिँदा समेत पालिकाकाले भुक्तानी नदिएको गुनासो गरे ।
लाखौं लगानी गरि काम सम्पन्न गर्दा पनि समयमा भुक्तानी नदिदा सडक छाप बन्न पुगेको उनले दुखेसो पोखे । उनले पालिका प्रमुख र कर्मचारीहरुको मिलोमतोमा कमिसनको खेलमा कामै नगरेका योजनाहरुमा आफ्ना नातागोता र आसेपासेलाई भुक्तानी दिनु दुःखद भएको टिप्पणी गरे ।
नगरप्रमुख ललनप्रसाद गुप्ताले योजनाबारे जानकारी रहेपनी बजेट खर्च भए–नभएको बारे आफुलाइ थाह नभएको बताए । उनले यस सम्बन्धमा लेखापाल र प्रमुख प्रशासकीय अधिकृतसंग बुझ्नु भन्दै पन्छिन खोजे ।

प्रमुख प्रशासकीय अधिकृत पुरषोतम घिमिरेले आफुहरुबाट त्रुटि भएको स्वीकार गरे । उक्त कार्यक्रम सञ्चालनमा कमजोरी हुन पुगेको बताउदै उनले काम सम्पन्न नगरी भुक्तानी भईसकेको भएपनि चाँडै केही दिनमा उक्त रकम बराबरको सामान लाभग्राहीलाई वितरण गर्ने जानकारी दिए ।
पालिकाको एक शाखा प्रमुखका अनुसार पेडा प्रवर्द्धन कार्यक्रमको लागि फ्रीज खरिद गर्नुपर्ने हुन्छ । कञ्चनपुरका ब्यापारी एवम् पालिकाका करार आ.इ.टि कर्मचारी आदित्य गुप्तालाई फ्रीज किन्ने काम गर्न दिएपनि केही ढिलो हुन पुगेको ती कर्मचारीले बताए ।