न्यूज टुडे
राजविराज, १० भदौ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थित रहेको त्रिरत्न गुम्बाको मुर्ति चोरी भएको छ । डेढबर्ष अगाडि मात्र स्थापना गरिएको सुनको जलप रहेको पितलको ३ फिट उचाइ रहेको अमिता बुद्धको मुर्ति आइतबार चोरी भएको हो ।
आइतबार दिउँसो गोठालो गएका एक व्यक्तिले मुर्ति राखेको ढोका खुल्ला देखेर आफुलाई खबर गरेपछि आइतबार दिउँसो १ बजे मुर्ति चोरी भएको थाह पाएको गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष खडग बहादुर तामाङले बताए ।
मुर्ति राख्ने कोठाको साँचो फोरेर मुर्तिसंगै रहेको १ सय ८ बत्ति, पन्चबत्ती, ठूलो कोङबत्ति, पानी चढाउने ७ वटा बटुकासहित २ लाख बराबरको सामन चोरी भएको उनले जानकारी दिए ।
मुर्ति शनिबार रातिनै चोरी भएको आशंका प्रहरीले गरेको छ । ईलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज प्रहरी नायव निरीक्षक अमिरी यादवले घटना बारे अनुसन्धान अगाडि बढाएको तथा चोरीमा संलग्नहरुको खोजी भइरहेको बताए ।