• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराजका विद्यालयहरुमा मनपर्दी भुक्तानी

राजविराजका विद्यालयहरुमा मनपर्दी भुक्तानी

न्यूज टुडे
राजविराज, ५ भदौ ।
राजविराज नगरपालिकाले विद्यालयहरुमा मनपर्दी भुक्तानी दिने गरेको खुलासा भएको छ । नगरपालिकाले दिवाखाजा वापतको भुक्तानी दिदा कार्यक्रम कार्यान्वयन निर्देशिका विपरीत विभिन्न विद्यालयहरुलाई लाखौं भुक्तानी दिएको खुलासा भएको हो ।

नगरपालिकाले दिवा खाजा बापत दर्जनौं विद्यालयलाई ८ लाख ६२ हजार ३ सय ३५ रुपैयाँ बढी भुक्तानी गरि अनियमितता गरेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।
महालेखा परिक्षकको प्रतिबेदन २०७९ अनुसार राप्रवि डुमरी शिवथानलाई ६४ हजार ३ सय ९५, केअ मावि राजविराजलाई ७९ हजार ३ सय ६५, आधारभुत विद्यालय गडिया मलेठलाई ४९ हजार १ सय ४० मदरसा रहामानिया दारुल करान जगहरीलाई १३ हजार ६५, मदरसा इस्लामिया जेलहरीलाई १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ बढी भुक्तानी दिएको छ ।
यसैगरी मावि मट्टीगढीलाई ७६ हजार ३ सय ७०, झल्हीलाई १० हजार २ सय ६०, दमावतीलाई १ लाख ६५ हजार, बेसिटोललाइ ११ हजार २५, पिपहाही विषहरियालाई १ लाख ७० हजार ९ सय ७०, मुसर्निया भरुवालाई ९० हजार २ सय ७० बढी भुक्तानी दिएको छ ।

कार्यक्रम कार्यान्वयन निर्देशिका २०७८÷०७९ को २.७.११. १ बमोजिम बालविकास देखि कक्षा ५ सम्म अध्यानरत सामुदायिक विद्यालयका बालबालिकाहरुका लागी प्रति विद्यार्थी अधिकतम हाजिरीको आधारमा १८० दिनसम्म दिनसक्ने व्यवस्था देखिन्छ, प्रतिबेदनमा भनिएको छ, यस नगरपालिकाले तपशिल बमोजिमका विद्यालयलाई दिवा खाजा वापतको रकम भुक्तानी गर्दा १८० दिन भन्दा बढी दिनको भुक्तान गरेको देखिन्छ सो रकम सम्बन्धित विद्यालयबाट असुल गरि संघीय संचित कोषमा दाखिला गर्नुपर्छ ।
यसैगरी शिक्षा शाखा प्रमुख र विद्यालय प्रशासनको मिलोमतोमा विद्यार्थी संख्या थप गरि बढी भुक्तानी दिने गरेको प्रतिबेदनले ठहर गरेको छ । नरेन्द्र मेमोरियल जनता माविमा १०७ विद्यार्थी बापत विद्यालय सिकाई सामाग्री तथा ल्याव व्यवस्थापनका लागि प्रती विद्यार्थी १५ सयको दरले भुक्तानी गरेकोले विद्यालयमा १०१ जना मात्र विद्यार्थी रहेको प्रतिबेदनमा उल्लेख छ । नगरपालिकासंगको मिलोमतोमा विद्यालयहरुले झुठो विवरण पेश गरि बढी रकम निकासा लिई बाँडफाँड गर्ने गरेको ठहर महालेखा परिक्षकको प्रतिबेदन २०७९ ले गरेको छ ।

यसैगरी नगरपालिकाले विद्यालयलाई अनुदान दिने बजेटमा पनि अनियमितता गरेको पाईएको छ । आधारभुत विद्यालय फर्सेठसहितका विद्यालयहरुलाई कार्यविधि विपरीत लाखौ भुक्तानी दिएर अनियमितता गरेको महालेखाको प्रतिबेदन उल्लेख छ ।