न्यूज टुडे
राजविराज,१ भदौ ।
गत साउन ९ गते सप्तरीका मो. उस्मानले अनुचित लेनदेन गर्ने पीडकलाई नै प्रशासनले सघाउने काम हुन थालेकाले आफू जस्ता पीडितले न्याय पाउन नसकेको आरोप लगाए । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनै गरेर उनले ३१ लाख ४० हजारमा साहुकहाँ बन्धकी राखेर लिएको ऋण पटक पटक गरी एक करोड ३३ लाख बुझाउँदा पनि जग्गा फुकुवा नभएको पीडा पोखे ।
पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने प्राबधानका तहत आफूले पनि दिएको निवेदनमा उल्टै बिचौलिया मार्फत पीडक सित मिलेर आफूलाई धम्क्याउँदै मिल्नकालागि दवाव दिईएको गुनासो पोखे ।
अर्का मिटर ब्याज पीडित कृष्णा साहले सोही पत्रकार सम्मेलनमा पीडितलाई न्याय दिनु पर्नेमा उल्टै प्रभाव र पहुँचवाला पीडक सित मिलेर प्रशासनले उनीहरुलाई नै जोगाउने गरेको पीडा सुनाए । साहले रकमको चलखेल गरी पीडितलाई नै मुद्दामा मिलापत्रकालागि दवाव दिने गरिएको कारण वास्तविक पीडितले न्याय पाउन नसकेको बताए ।
कुरा उस्मान र कृष्णाको मात्र होईन,जिल्ला प्रशासन कार्यालय सप्तरीमा यसरी पैसाको चलखेल गरी पीडितलाई मिलापत्रकालागि दवाव दिने गरिएको भनि धेरैको आरोप छ ।
जनता समाजवादी पार्टीका नेता तथा मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्रप्रसाद साह अनुचित लेनदेन सम्बन्धि कानून बनेपनि कार्यान्वयनमा नआउँदा अझै जाँचबुझ आयोग मार्फत नै जिल्ला प्रशासनबाट कामकाज हुँदै आएकोमा उल्टै धाकधम्की,धरपकड सम्मको अनुचित काम भईरहेको भनि आफूकहाँ पनि धेरै पीडितको गुनासो आउने गरेको बताउँछन् ।
पैसा खानकालागि बिचौलिया समेतको प्रयोग गरी उल्टै पीडितलाई नै थप पीडा दिने काम भईरहेको उनको कथन छ । दिनहुँ जसो पीडितहरु यस्ता गुनासा लिएर म कहाँ आउने गरेका छन्,उनले भने,न्याय माग्न गएकामाथि यसरी उल्टै धम्क्याउने र थुनिदिने भन्दै मिलापत्रका लागि दवाव दिएपछि पीडितले कहाँ गएर न्याय पाउने ?
नेपाली काँग्रेस सप्तरीका नेता उमेश मिश्रले पनि माओवादी जनयुध्द कालको जनअदालत झैं मिटरब्याज पीडितमाथि सप्तरी प्रशासनमा अहिले व्यवहार भईरहेको भन्दै आपत्ति प्रकट गरे ।
बरिष्ठ अधिवक्ता सुजीतकुमार पोखरेल अनुचित लेनदेन अनुसूची १ अन्तर्गतको कसुर रहेको भन्दै यस्तो कसुरमा बलपूर्वक मेलमिलाप गराउनु अर्को अपराध हुने बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कार्यालयमा यस्तो व्यवहार नभएको दावीका साथ प्रमाणसहित आएमा त्यस्ता कर्मचारीमाथि कारवाही गरिने बताए । बाहिरी हल्लाका पछि लाग्नु भन्दा पनि प्रमाणसहित आएमा आफू कारवाही गर्न पछि नपर्ने उनको कथन छ ।