• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हटियाबासीले प्रजिअ थापालाई बुझाए ज्ञापनपत्र

हटियाबासीले प्रजिअ थापालाई बुझाए ज्ञापनपत्र
न्यूज टुडे
राजविराज, ११ श्रावण । 
राजविराज हटियाबासीले बिहिवार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापनपत्र बुझाएका छ्न । संतोष प्रसाद साहको नेतृत्वमा गएको हटियाबासीहरुले प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका हुन । 
राजविराज नगरपालिकाले एकतर्फी हटियाको संरचना हटाउने निर्णयले आफुहरु मारमा परेकोले उचित छानविन गरि व्यवस्थापन गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको साहले बताए ।
 ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले बजारबासीले उठाएका जायज माग सम्बोधन गर्ने आश्वासन दिए । उनले कानुन अनुसार बनेका संरचनाहरुलाई नहटाईने बताए । अबैध रुपमा बजारको जग्गा अतिक्रमण गरि बनेका संरचनाहरु हटाउने छौँ, उनले भने,  हामी कानुन बिपरित जाँदैनौ, अतिक्रमण होइन भन्ने प्रमाण दिएमा यस्ता संरचनालाई छुदैनौं, ढुक्क भएहुन्छ ।
 ज्ञापनपत्र बुझाउदै पुर्व वडा अध्यक्ष एवम् स्थानीयबासी विन्देशर प्रसाद साहले आफुहरुले २०४४ सालदेखि हकभोग गर्दै आएको जग्गामा निर्माण गरिएको संरचनालाई अतिक्रमण भएको भन्न नमिल्ने बताए । 
हामीले कानुन बमोजिम हटियाको जग्गा भोगचलन गर्दै आएको छौँ, उनले भने, नगरपालिकाले सूचनासम्म जारी नगरी जग्गाखाली गर्न दुई दिनको समय दिनु अव्यावहारिक छ । हामी यस्तो निर्णयलाई मान्दैनौं , उनले छलफल तथा समवन्य नगरी  ७ नम्बर  वडा कार्यालयले बिहिवार  सूचना प्रकाशित गरि दुईदिन भित्र हटियाको प्लट अगाडि रहेको १० फिटे संरचना हटाउने सूचना गरेको भन्दै गुनासो गरे ।
 हटिया बासीले बुझाएको ज्ञापनपत्रमा नगरपालिकाले स-शुल्क दिने निर्णय अनुसार जग्गा उपयोग गर्दै आएको दाबी गरिएको छ । 
विक्रम सम्बत १९९९ सालमा राजविराज बजारको बसोबास तथा स्थापना भएको थियोे,  त्यस बेला ६० विगाहाको प्लटमा भारतको जयपुर शहरको नक्शा अनुरुप प्लटिङ गरि इच्छुक व्यक्तिलाई उक्त प्लट वितरण गरिएको थियो,  ज्ञापनपत्रमा भनिएको छ, टाउन प्लटिङ गर्दा त्यस बखतको नाप नक्सा अनुसार हटियाको प्लट सबैभन्दा सानो हुन गयो त्यसकारण २०४४ सालमा तत्कालीन नगर पन्चायतको नगरसभाबाट हटिया प्लट अगाडिको १० फिट जग्गा हटियाबासीलाई स-शुल्क दिने निर्णय अनुरुप सो जग्गाको कर तिर्दै हामी उपयोग गर्दै आईरहेकाछौं । त्यसकारण हामीले नगरपालिकाको कुनै जग्गा  अतिक्रमण नगरेको जानकारी गराउन चाहान्छौ । 
राजविराज नगरपालिकाले आफैंले जग्गा अतिक्रमण गरि बनाएको अबैध संरचना हटाउन हटियाबासीले ज्ञापनपत्र मार्फत जोडदार माग गरेको छन  ।
 टाउन प्लानिङ्ग गरि बनाएको त्यस बखतको हटियाको चारैतिरको जग्गा वितरण गरिएको थियो भने प्लटहरुको विचको जग्गा खाली मैदान भनी त्यस बखतको नक्शामा उल्लेख छ, ज्ञापनपत्रमा भनिएको छ, त्यस खाली मैदानमा खुल्ला हाट बजार लाग्ने गरेको अबस्थामा ५-६ बर्ष अगाडि राजविराज नगरपालिकाले स्थानीय सरोकारवालाहरुसंग कुनै समवन्य नगरी एकतर्फी हचुवा तरिकाले उक्त खाली मैदानमा ३ सय सटर भएको अबैध संरचना निर्माण गरिएको छ, ज्ञापनपत्रमा अगाडि भनिएको छ, तीन हजार ढकिया चट्टी अटाउने साना व्यापारीलाई विस्थापित गरेर बिना शौचालयको ३ सय सटर निर्माण गर्दा राजविराज नगरपालिकाले आफैंले सार्वजनिक बाटोघाटो मिचेर नक्शा पास नगरी बनाएको संरचनालाई हामी अबैध मान्दछौ, यो संरचना वातावरण मैत्री समेत नरहेको जानकारी गराउदै उक्त अबैध संरचना हटाउन माग गर्दछौं ।
 ज्ञापनपत्रमा हटिया बासीलाई कुनै जानकारी नदिई एक्कासि दुईदिने अल्टिमेटमसहित वडा कार्यालयले सूचना जारी गरेको भन्दै घोर आपत्ति जनाएको छ । मिति २०८०-०४- १० गते राजविराज वार्ड नम्बर ७ वडा कार्यालयले सूचना प्रकाशित गरि दुई दिन भित्र हटिया प्लट अगाडि रहेको दशफिटे संरचना हटाउन सूचना जारी गरेको छ, तसर्थ हटिया बजार भित्रका प्लटहरु सम्बन्धित निकायसंग उक्त विषयमा उचित छानबिन गरि व्यवस्थापन गरिदिनहुन आग्रह गर्दछौं ।
 राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविन नेतृत्वको टोलीले बुधबार हटिया बजार क्षेत्र लगायतमा बनाएको अतिक्रमीत संरचनाहरुको स्थलगत निरीक्षण गरि हटाउन आग्रह गरेका थिए । 
प्रजिअ भुपेन्द्र थापा, एसपी नरेन्द्र कुमार कार्कीसहित रहेको टोलीले स्थानीयबासीलाई भेटेरै तोकिएको समयसीमा भित्र अतिक्रमण गरिएको जग्गामा बनाएको संरचना नहटाए डोजर लगाएर खाली गर्ने चेतावनी दिएका थिए ।