न्यूज टुडे
राजविराज, ९ श्रावण ।
तलब रोकिदिँदा आन्दोलित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । प्रमुख प्रशासकीय अधिकृtत हरिमोहन शर्माले नगरसभाबाट तलव उपलब्ध गराउने आश्वासन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेको हो । नगरपालिकाले आगामी नगरसभामा माग सम्बोधन गर्ने बताएपछि आन्दोलन स्थगन गरेको संघर्ष समितिका संयोजक इन्द्र नारायण राउतले बताए ।
नगरप्रमुख विरेन्द्र माझीले सोमबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको तथा प्रमुख प्रशासकीय अधिकृत शर्मा आफै उपस्थित भई तलव उपलब्ध गराउने प्रतिबद्धता गरेपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको उनले जानकारी दिए । हामी अझै आन्दोलनमै छौ, उनले भने, तलव उपलब्ध नभएसम्म संघर्षको कार्यक्रम स्थगन मात्र गरेका हौ। तत्कालका लागी धर्ना तथा तालाबन्दी स्थगित भएपनि तलव उपलब्ध नभएसम्म आन्दोलन भने जारीनै रहेको उनको भनाई छ । माग सम्बोधनमा वेवास्ता गरे थप संघर्षको कार्यक्रम सार्वजनिक गरि सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।
यसअघि विद्यालय कर्मचारीहरुले संघीय अनुदान तर्फ ८ हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १५हजार र बालविकास शिक्षकहरूले संघीय अनुदानबाट १० हजार र स्थानीय तहबाट ७ हजार गरी मासिक १७ हजार पाइरहेका थिए । तर आर्थिक वर्ष २०७९/०८० को तेस्रो र चौथो त्रैमासिक तलवमा उनीहरूले स्थानीय तहबाट दिँदै आएको तलब नपाउँदा सोमबारदेखी नगरपालिकामा धर्ना बसेका थिए ।