• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

न्यूज टुडे
राजविराज, ४ श्रावण ।
एकातिर भारतीय सीमाबर्ती बजारबाट थोरै परिमाणमा दैनिक उपभोग्य वस्तु ल्याउनेमाथि पनि प्रहरीले कडाई गर्न थालेको छ ।

भन्सार सुक्दै गएको भन्दै सीमा नाकामा यसरी कडाई गर्न थालेको केही वर्ष भएको छ र यो क्रम विभिन्न नाकामा जारी नै छ । एक केजी दाल,चिनी,एक लिटर खाने तेल,जिरा,धनियाँ,लहसुन लगायतका खाद्य सामग्रीमा समेत अधिकतम कडाई गर्न थालिएको छ । कडाई यतिसम्म हुन थालेको छ कि हरियो साग समेत भन्सार नाकामा रोकेर राख्न थालिएको छ । राजस्व संकलन नै प्रभावित हुने गरी तस्करी बढ्छ यदि भने त्यसमाथि कडाई गर्नै पर्ने हुन्छ । तर सामान्य घर खर्चकालागि सीमाबर्ती बजार पुगेर किनमेल गर्दै आएका सर्वसाधारणलाई यसरी रोक्न थालेपछि ठूला खालका तस्करहरुमाथि पनि यस्तै गरी निगरानी बढाउनु पर्ने हुन्छ । पछिल्लो चरणमा मोरंगको विराटनगर स्थित रानी नाकामा यही कडाईका कारण सनसनी फैलिन थालेको छ ।

यस्तै दैनिक उपभोग्य सामग्री किन्न जोगबनी जाने गरेकाहरुमाथि कडाई गरिनाले त्यस रुटमा चल्ने सार्वजनिक यातायातका साधनमा यात्रु नरहने गरेको,जोगबनी बजार सुनसान देखिन थालेको समाचार छ । सानो झोलामा घर खर्चका सामान लिएर आएका उपभोक्तालाई पनि वारिपट्टि रोकेर खोस्ने गरेको दृष्य अचेल त्यहाँ निकै देख्न पाईन्छ । त्यसै कारण उक्त क्षेत्रमा किनमेल गर्न जानेको संख्या क्रमशः घट्दो छ । यस्तो कडाई गर्दैमा भन्सार गुल्जार भईहाल्छ भन्न चाहिँ अहिले नै ठोकुवा गरिहाल्न हतारो हुनेछ । किनकी पारीपट्टि सामान किनेर छोडि दिएपछि राती राती वारितिर भन्सार छलेर व्यापारिक सामान आउने क्रम अहिले पनि रोकिएको चाहिँ छैन । धेरै जसो सीमा नाकामा अहिले पनि तस्करी चलि नै रहेको अवस्था छ । सप्तरीको कुनौली नाकामा पनि गत वर्षदेखि नै यस्तै कडाई नगरिएको होईन । साना उपभोक्तामाथि यसरी नाकामा तैनाथ प्रहरीले सामान रोकेर कडाई गरे पनि तस्करी चाहिँ चलि नै रहेको अवस्था छ । केही दिन अघि मात्र तस्करी बढेको भनि सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा प्रमुख जिल्ला अधिकारी समेतको ध्यानाकर्षण गराएबाट पनि तस्करी चलिरहेको छ भन्ने कुरा प्रमाणित हुन्छ । सानो परिमाणमा सामान किनेर ल्याउनेमाथि रोक लगाउने अनि ट्रकका ट्रक सामान भन्सार छलेर भित्रि रहने हो भने यसले राजस्व संकलनमा सुधार आईहाल्छ भनि के आधारले भन्न सकिएला ? सीमा नाकामा नेपालबाट भारत तर्फ निकासीकालागि भण्डारण गरी राखिएका मदिरा,सुपारी,केराउ,स्याउ लगायतका वस्तु समय समयमा ठूलो परिमाणमा फेला पर्ने नै गरेका छन् ।

यस्तै पारीपट्टिबाट लागु औषधको अबैध आयात हुने गरेको कुरा समय समयमा त्यस्ता सामग्री बरामद हुने गरेकोबाट नै साबित हुन्छ । गत मंगलबार राती मात्र हगकंगबाट ल्याएर त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल पार गरेर भित्र्याउन लागिएको करीब एक क्वीण्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले सीनामंगलबाट बरामद गरेको छ । नेपालमा एकै पटक यति ठूलो परिमाणको सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको सम्बन्धित अधिकारीहरुको कथन छ । भन्सारबाट सहजै बाहिरिएको सुन सीनामंगलमा बरामद भएपछि त्यसमा सेटिंगको पनि आशंका छ । वास्तविकता भने विस्तृत अनुसन्धान पछि नै बाहिर आउला । तर यस्ता ठूला तस्करीमाथि नियन्त्रण गर्नेतिर लाग्नु पर्नेमा सीमा नाकामा मात्र कडाई गरी दुई चार सयका मालसामान पक्रेर राजस्वमा सुधार आउला भनि कसरी विश्वस्त हुन सकिएला ? भन्सार छलिमाथि कडाई गरिनु हुन्न भन्ने होईन । तर आँखामा छारो हाल्ने पाराले सानालाई मात्र निगरानी बढाएर ठूलालाई छुट दिईनु चाहिँ किमार्थ उचित हुन सक्दैन ।