न्यूज टुडे
राजविराज, ४ श्रावण ।
जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ । जनमत पार्टीद्वारा बिहिवार एक प्रेस विज्ञाप्ति जारी गर्दै कुशवाहालाई पार्टीको साधारण सदस्य समेत नरहे गरि निष्कासन गरिएको जनाएको हो ।
पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् केन्द्रिय अनुशासन विभाग प्रमुख इन्जिनियर दिपक कुमार साहद्वारा हस्ताक्षरित प्रेस विज्ञाप्तिमा कुशवाहाले अनुशासनहिनता प्रदर्शन गर्दै नेतृत्व विरुद्ध लागेकोले पार्टीबाट निष्कासन गरेको जनाएको छ । २०८० श्रावण ३ गते बुधबारका दिन जनमत पार्टी केन्द्रिय कार्यालय बुद्धनगर काठमाडौमा केन्द्रिय अनुशासन प्रमुखको रोहवरमा बसैको बैठकबाट छानबिन समितीको प्रतिबेदनमाथि विचार गर्दै जनमत पार्टीको नीति निर्देशन र विधान विपरित ढंगले अनुशासनहिनता प्रदर्शन गरेकाले कुशवाहासहित पाँचजनालाई कारबाही गरिएको जारी प्रेस विज्ञाप्तिमा उल्लेख छ ।
कुशवाहा गत बैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका थिए । जनमत पार्टीबाट चुनाव लडेका कुशवाहा जसपा अध्यक्ष उपेन्द्र यादवसंग झिनो मतान्तरले पराजित भएका थिए ।
यसैगरी जनमत पार्टीले अनुशासन विपरीत कार्यगर्ने अन्यचारजना नेतामाथी कारबाही गरेको जनाएको छ । सप्तरीका गुलाव मण्डलले मन्दिर व्यवस्थापन समितीको निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै कारबाही गरिएको छ । उनलाई पार्टीको सदस्यबाट १ बर्ष निलम्बन गरिएको छ ।
यसैगरी सप्तरीकै शंकर खडगाले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको ठहर गरेको छ । उनलाई पार्टी सदस्यबाट १ बर्ष निलम्बन गरिएको जनाएको छ । यसैगरी रुपन्देहीका भोगेन्द्र यादवले केन्द्रिय निर्देशनको उल्लंघन गरेको र गर्न लगाई गुटबन्दी गरेको आरोप लगाएको छ । उनलाई जनमत पार्टीको सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको छ ।
कपिलवस्तुका भगवान दास यादवले अनुशासनहिनता कार्य गरेकोले कारबाही गरिएको जनाएको छ । यादवलाई पार्टी सदस्यबाट १ बर्षको लागि निलम्बन गरिएको छ ।