राजकुमार साह
कञ्चनपुर, १ असार ।
चालु आर्थिक वर्ष सक्न एक महिना मात्र बाँकी रहँदा सप्तरीको कञ्चनरुप नगरपालिकाको विकास बजेट १८ प्रतिशत मात्र खर्च भएको छ ।
नगरपालिकाले जेठ मसान्तसम्ममा कुल विकास बजेटको १८ प्रतिशत मात्र खर्च गर्न सकेको हो । कञ्चनरुप पालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को ३ सय १३ वटा योजना तथा कार्यक्रमको लागि कुल २० करोड २० लाख ९७ हजार ३सय एक रुपैयाँ बजेट विनियोजन गरेको योजना शाखाले जनकारी गराएको छ । योजना शाखाका अनुसार पालिकाले जेठ मसान्तसम्ममा कुल विकास बजेटको ३ करोड ६२ लाख ७ हजार ४ सय १५ रुपैयाँ मात्र खर्च गरेको छ । अबको एक महिनामा बाँकि रहेको १६ करोड ५८ लाख ८९ हजार ८ सय ८६ रुपैयाँ खर्च हुने छ । हाल वडा सिलिङ र नगरस्तरीय गरी २६ प्रतिशत अर्थात ४ करोड ३२ लाख १९ हजार १६ रुपैयाँ बराबरको योजना तथा कार्यक्रम सञ्चालनमा रहेको योजना शाखाले जनाए । पालिकाले १२ वटै वडाको लागि ९ करोड १४ लाख ९७ हजार ३ सय १ रुपैयाँ वडा सिलिङ बिनियोजन गरेको छ । जस अन्तर्गत कुल २ सय ५८ योजना तथा कार्यक्रम मध्ये ४८ वटा योजना मात्र सम्पन्न भएको छ । ४९ वटा योजना तथा कार्यक्रम सञ्चालनमा रहेको छ, भने अबको १ महिनामा १ सय ५१ वटा योजना सम्पन्न गर्नु पर्नेछ ।
यसैगरी पालिकाले नगरस्तरी योजना तथा कार्यक्रमको लागि ११ करोड ६ लाख बजेट बिनियोजन गरेको छ । जस अन्तर्गत कुल ५५ वटा योजना मध्ये ५१ लाखको ६ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको शाखाले बताए । साथै २ करोड १७ लाखको १२ वटा योजना सञ्चालनमा रहेको छ, भने असार–मसान्तमा नगरस्तरीय ३७ वटा र वडा सिलिङको एक सय ५१ गरी कुल १ सय ८८ योजना तथा कार्यक्रम सञ्चालन हुन नसकेको शाखाले बताए । कञ्चनरुप पालिकाले चालू आर्थिक वर्षको ११ महिनामा सम्पन्न गरेको र सञ्चालनमा रहेको विकास योजना तथा कार्यक्रमको प्रगति मात्र ४४प्रतिशत छ, अबको एक महिनामा ५६ प्रतिशत बजेट खर्च हुन्छ भन्ने आधार नरहेकोले ठूलो विकासिय बजेट फ्रीज हुने निश्चित छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा समेत कञ्चनरुप पालिकाले ५४ प्रतिशत विकाश बजेट मात्र खर्च गर्न सकेको थियो । महालेखा परिक्षकको प्रतिबेदन २०७९ अनुसार नगरस्तरीय ५१ र वडा स्तरीय एक सय ९९ गरि कुल २ सय ५० योजना तथा कार्यक्रमको लागि पालिकाले २२करोड ९२ लाख २४ हजार बजेट बिनियोजन गरेको थियो । नगरस्तरीय योजनाको लागि ११करोड ९३लाख ५० हजार विनियोजित बजेटमा ५ करोड ६ लाख ९४ हजार मात्र खर्च गर्न सकेको थियो । यसैगरी पालिकाको १२ वटा वडाको सिलिङ बजेट १० करोड ९८ लाख७४ हजार विनियोजन गरेको मध्ये ७ करोड २८ लाख २१ हजार मात्र खर्च गर्न सकेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । पालिकाले २ सय ५० योजना मात्र कार्यान्वयन गर्न सकेको थियो भने ७२ वटा योजना कार्यान्वयन गर्न असफल भएको प्रतिबेदनमा जनाईएको छ । पालिकाले जिम्मेवार पदाधिकारीहरुको लापरबाहीले गर्दा ४६ प्रतिशत अर्थात १० करोड ५७ लाख ९ हजार बराबर विकास बजेट खर्च गर्न सकेका थिएन ।