राजकुमार साह
कञ्चनपुर,२३ जेठ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले मेसिनरी औजार मर्मत गर्ने नामना लाखौं रकम अनियमितता गरेको पाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साह र लेखापाल राजेश राजको मिलोमतोमा मेसिनरी औजार मर्मतको नाममा ३१लाख भन्दा बढी रकम अनियमितता गरेको खुलासा भएको हो । महालेखा परीक्षकको प्रतिबेदन २०७९ अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा कञ्चनरुप नगरपालिकामा ३१ लाख ५८ हजार रुपैयाँ मेसिनरी औजार मर्मतको नाममा खर्च गरेर आर्थिक अनियमितता गरेको उल्लेख छ ।
आर्थिक कार्यविधि तथा वितिय उतरदायित्व नियमावली, २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानी नोक्सानी नहुनेगरी संरक्षण गर्ने र तिनिहरुको राम्रो सम्भार गरि वा चालु अवस्थामा राख्ने उतरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सोहि बमोजिम कार्यालयमा रहेको चल्ती जिन्सी मालसामान मर्मत गर्नुपर्ने भएमा कार्यालय प्रमुखबाट मर्मत आदेश स्वीकृत गराइ मर्मत गराइ खर्च लेख्नु र सोको मर्मत अभिलेख तयार गरि राख्नुपर्दछ , प्रतिबेदनमा भनिएको छ । तर, कञ्चनरुप पालिकाको प्रमुख प्रशासकीय अधिकृतले मेसिनरी औजार मर्मतमा मर्मत आदेश तथा अभिलेख विना मर्मत खर्च भुक्तानी गरेको छ ।
महालेखा परीक्षकको प्रतिबेदन अनुसार पालिकाले कुन उपकरणको लागि के कति खर्च गरेको हो ,एकिन समेत गर्न सक्ने आधार नरहेको उल्लेख गरेको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत रेणुका साहसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।