• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

श्री जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा सप्तरीको जित

श्री जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको खेलमा सप्तरीको जित

न्यूज टुडे
राजविराज, ०४ कार्तिक ।
सप्तरीमै ख्यातिप्राप्त श्री जनचेतना ४१औं रनिङ शिल्ड फुटबल प्रतियोगिताको दोश्रो दिनको शुक्रबार सम्पन्न खेलमा अग्निसाईर फुटबल क्लव सितापुर सप्तरीले जित हाँसिल गरेको छ । अग्निसाईर कृष्णासवरन १ स्थित जनचेतना माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित दोश्रो दिनको खेलमा एपीएफ फुटबल टिम महोत्तरीलाई ०–५ गोलले पराजित गर्दै सप्तरीले जित हासिल गरेको हो ।

खेलको पहिलो हापको २० औं मिनेटमा अग्निसाईर फुटबल क्लब सितापुर सप्तरीका कृपा चौधरीले गोल गरे । यसैगरी विजेता टिमका अजित कुमार चौधरीले खेलको पहिलो हापमै ४० औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाए । यस्तै खेलको दोश्रो हापको ७२ औं मिनेटमा अग्निसाईरकै अभिषेक लिम्बुले १ गोल थपे भने  ८० र ८५ औं मिनेटमा दिनेश राईले २ गोल प्रहार गरी टिमको जित सुनिश्चित गरे ।

पुरस्कारका लागि सजाएर राखिएको शिल्डहरु । फोटो ः न्यूज टुडे

खेलमा एपीएफ फुटबल टिम महोत्तरीले कुनै गोल नगर्दा लज्जास्पद हार व्यहोर्नुपरेको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए । भोली शनिबारको खेल फ्युजन एफ सि क्लब गाईघाट उदयपुर र महुली ११ स्पोर्ट्स क्लब घोघिदाहा भवानीपुर सप्तरी बीच हुने आयोजक समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिए । प्रतियोगितामा प्रदेश नम्बर १ का मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका महोत्तरी, सिराहा र सप्तरीका फुटबल टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समूह (क) विराटनगर स्पोर्ट्स एकेडेमी विराटनगर मोरङ, न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी, अग्निसाईर फुटबल टिम वडा नम्बर २ सितापुर, ए.पी.एफ. फुटबल टिम वर्दिवास महोत्तरी बीच प्रतिस्पर्धा हुने छन् । यसैगरी समूह (ख) अन्तर्गत फ्यूजन एफ.सी. क्लब गाईघाट उदयपुर, महुली ११ स्पोर्ट्स क्लब घोंघिदाहा–भवानीपुर सप्तरी, रियल स्टार एफ.सी. सिरहा र रामधुनी यूवा क्लब झुम्का सुनसरी बीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव महेश प्रसाद चौधरीले जानकारी दिए ।

८ टिम सहभागी खेलमा त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर र एपीएफ फुटबल टिम बर्दिवास महोत्तरी बाहिरिएका छन् । प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद राशीसहित शिल्ड, मेडल, प्रमाण–पत्र प्रदान गरिने छन् भने उपविजेतालाई ३५ हजार नगद राशीसहितको कप, मेडल, प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।