न्यूज टुडे
राजविराज, ०३ कार्तिक ।
सप्तरीमै ख्यातीप्राप्त श्री जनचेतना ४१औं रनिङ शिल्ड फुटबल प्रतियोगितामा शुरु भएको छ । फुटबल जगतमै लामो इतिहास बनाएको सप्तरी अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जनचेतना माविको खेलमैनमा आयोजित फुटबल प्रतियोगिताको बिहीबार एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उद्वघाटन गरेको हो ।
श्री जनचेतना ४१ औं रनिङ शिल्ड फुटबल प्रतियोगिताका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले राष्ट्रिय झण्डा उत्तोलन र व्यानर अनवरण गरी उद्घाटन गरे । फुटबल उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, पूर्व उपाध्यक्ष मिना चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का तेज नारायण यादव, ६ का अशोक आचार्यलगायतका जनप्रतिनिधिहरु, बिभिन्न पार्टी प्रतिनिधिहरु, संघसंस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेल विराटनगर स्पोर्ट्स एकेडेमी विराटनगर मोरङ्ग र न्यू त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुर सप्तरी विच भएको थियो । दुबै टिम बीच कडा प्रतिस्पर्धा रहेको उद्घाटन खेलमा निर्धारित ५० मिनेटको खेलमा दुबै टिमबाट कुनैपनि गोल हुन नसकेपछि पलान्टीमार्फत खेलको छिनोफानो गरिएको थियो । पलान्टिमा मोरङले २–४ गोल अन्तरले जित हासिल गरे । पलान्टिमा फत्तेपुरले गरेको २ वटा प्रहारलाई विराटनगरका गोलरक्षकले रोक्न सफल भएपछि मोरङ्गले जित हाँसिल गरेको आयोजक समितिका शेखर गुप्ताले जानकारी दिए ।
भोलीको खेल अग्निसाईर फुटबल क्लब सितापुर २ सप्तरी र एपिएफ फुटबल टिम बर्दिवास महोत्तरी बीच हुने आयोजक समितिका सचिव महेश प्रसाद चौधरीले जानकारी दिए । बिभिन्न जिल्लाका चर्चित टिम सहभागी प्रतियोगितामा प्रदेश नम्बर १ का मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका महोत्तरी, सिराहा र सप्तरीका फुटबल टिमले सहभागीता जनाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समूह (क) विराटनगर स्पोर्ट्स एकेडेमी विराटनगर मोरङ, न्यू त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी, अग्निसाईर फुटबल टिम वडा नम्बर २ सितापुर, ए.पि.एफ. फुटबल टिम वर्दिवास महोत्तरी बीच प्रतिस्पर्धा हुने छन् । यसैगरी समूह (ख) अन्तर्गत फ्युजन एफ.सि. क्लब गाईघाट उदयपुर, महुली ११ स्पोर्ट्स क्लब घोंघिदाहा–भवानीपुर सप्तरी, रियल स्टार एफ.सि सिराहा र रामधुनी यूवा क्लब झुम्का सुनसरी बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमलाई ५५ हजार नगद राशीसहित शिल्ड, मेडल, प्रमाण–पत्र प्रदान गरिने छन् भने उपविजेतालाई ३५ हजार नगद राशीसहितको कप, मेडल, प्रमाण–पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।