न्यूज टुडे
राजविराज, १४ चैत ।
राजविराज द किंग सप्तरीमा जारी राजविराज मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न खेलमा बजाज खडक वारियर्सलाईलाई ६ विकेटले पराजित गर्दै राजविराज द किंग फाईनल प्रबेश गरेको हो ।
जितसंगै राजविराज द किंगले फाइनलमा स्थान पक्का गरेको छ । फाइनल पुग्ने दोश्रो टिम मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलले गर्नेछ । उक्त खेलमा तिलाठी कोइलाडी विजयी भए फाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा अंकतालिकाको हाल दोश्रो स्थानमा रहेको टिभीएस किंग्स राजविराज फाइनल पुग्नेछ । हारपछि बजाज खडक वारियर्स र राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गर्यो । जायन्ट्सले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो ।
टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले आक्रामक ब्याटिंग गर्दै ८२ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा जित्न पर्याप्त रहेन । यु–१६ राष्ट्रिय क्रिकेटर रहीसकेका विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सके ।
प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिए । योगेन्द्र सिंह कार्कीले ३ तथा रोहण विश्वकर्माले २ विकेट लिए ।
टस जितेर ब्याटिंग रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेट क्षेतीमा १९१ रन बनायो ।
तिलाठी कोइलाडीको ब्याटिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सुनिल धमलाले ७२ रन बनाए जुन क्रममा उनले ४२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै रोहन विश्वकर्माले अविजित ४० रन, योगेन्द्र सिंह कार्कीले ३० रन तथा भुवन कार्कीले २४ रन बनाए । टिभीएस किंग्स राजविराजका बलर महबुब आंले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १÷१ विकेट लिए ।
सोमबार सम्पन्न दोश्रो खेलमा राजविराज द किंगले डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । वारियर्सले दिएको १२३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट क्षेतीमा भेटायो ।
राजविराज द किंगको ब्याटिंगमा ओपनर शंकर रानाले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच चुनिएका उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । सन्तोष कार्कीले १९ रन बनाए। वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १÷१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।
वारियर्सको ब्याटिंगमा राज वर्माले सर्वाधिक २५ रोबिन सिंहले २० तथा सर्वन यादवले १९ रन योगदान दिए । राजविराज द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, अनिल यादव र फिर्दोश अन्सारीले २÷२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १÷१ विकेट लिए ।
प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा मंगलबार राजविराज ब्रदर्श र तिलाठी कोइलाडी जायन्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।
पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १÷१ खेल खेलेपछि उत्कृस्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् । टिभीएस किंग्स राजविराज, राजविराज द किंग, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।