न्यूज टुडे
राजविराज, १० चैत ।
सप्तरी प्रिमियर लिग मेयर कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण शुरु भएको छ । सप्तरीको राजविराजस्थित राजरंगशालामा बिहीबार आयोजित प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ्ग र उप–प्रमुख साधाना झाले वलिङ्ग गरेर उद्घाटन गरेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा राजविराज ब्रदर्सलाई ६ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित शुरुआत गरे । राजविराज ब्रदर्सले दिएको १ सय ४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छदै ६ विकेट क्षतिमा भेटायो । खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए । जसअनुसार ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै अरनिको यादवले ५० रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्वान्त लोहनी खातानखोली आउट हुँदा ४ रनमा ५ विकेटको क्षतिमा राहुल र अरनिकोले छैटौं विकेटका लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । राजविराज ब्रदर्सका बलर अनुजचुनरा र दिपेश कंडेलले सम्मान दुई विकेट लिएपनि जितका लागि प्रयाप्त भएन । टस जितेर ब्याटिङ्ग गरेको राजविराज ब्रोदर्सले २० ओभरमा ८ बिकेट क्षतिमा १ सय ३९ रन जोडे । जसमा अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रनको योगदान गरे ।
खडक वारियर्सका बलर अरनिको यादव र रविन सिंहले सामान ३ विकेट लिए । खेलको प्यलेयर अफ द म्याच बजाज वारियर्स अरनिको यादव घोषित भए । सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती रमन शर्मा, खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण लगायत उपस्थित रहेको थियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा टिम बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो खेल टिभिएस किंग्स राजविराज र राजविराज द किंग्स तथा दोस्रो खेल बजाज खडक वारियर्स र तिलाठी कोईलाडी जायन्टस बीच प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।