न्यूज टुडे
राजविराज, २५ कार्तिक ।
सप्तरीको अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्बर ३ मा जसकरण हिराई द एभरेष्ट यूवा फुटबल टिम हरिहरपुरद्वारा संचालित सातौं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि राम जानकी यूवा क्लब मट्टीगढाले कब्जा गरेका छन् ।
जनता आधारभूत विद्यालय हरिहरपुरको खेलमैदानमा बिहीबार सम्पन्न फाईनल खेलमा कीसवाईसी खडक नगरपालिका ८ भदैयालाई १–४ गोलले पराजित गर्दै मट्टीगढाले उपाधिमाथि कब्जा जमाएको हो ।

खेलका विजेता तथा उपविजेता टिमलाई एक समारोहका बीच पुरस्कार प्रदान गरिएको छ । आयोजक समितिका अध्यक्ष रबिन्द्र नारायण जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सुर्य नारायण यादवले विजेता टिमका खेलाडीहरुलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरे ।

यसैगरी उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका बिशिस्ट अतिथि अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी र उपाध्यक्ष मिना चौधरीले संयुक्त रुपमा नगर १५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष अरुण कुमार चौधरी लगायतकाका जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय राजनैतिक दलका नेताहरुको उपस्तिथि रहेको थियोे ।