• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मिथिला कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको तयारी

मिथिला कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको तयारी

कमल कुमार मण्डल
राजविराज, ०१ कार्तिक ।
सप्तरीको राजविराजमा प्रदेशस्तरीय मिथिला कप टि–ट्वाईन्टी क्रिकेट प्रतियोगीता बुधबारदेखी शुरु हुने भएको छ । यूवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसस्थित रहेको खेल मैदानमा तेश्रो संस्करणको खेल आयोजना हुने भएको हो ।

राजविराजस्थित नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार पत्रकार सम्मेलनमा सो बारे जानकारी गराएका छन् । सप्तरी क्रिकेट संघको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागी हुने क्लवका अध्यक्ष ई. रविन्द्र यादवले बताए ।

कार्तिक ३ गतेदेखि शुरु हुने प्रतियोगिता १२ गतेसम्म हुने खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, बिराटनगर स्पोर्टिङ्ग क्लव मोरङ्ग, फुलवारी क्रिकेट क्लव सुनसरी, रन्जितपुर राईडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लव सप्तरी, बजाज यूथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राईडर्स सप्तरी, तिलाठी कोईलाडी एलेभेन सप्तरी, लायन्स क्लव सप्तरी सहभागी हुनेछ ।

यसैगरी जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लव सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाईटेड क्रिकेट क्लव पर्सा सहभागी हुने क्लवका सचिव राजेन्द्र कुमार मुखियाले जानकारी दिए ।

खेलमा सप्तरीबाट ६, धनुषाबाट २, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट १÷१ वटा टिमको सहभागीता हुने भएका छन् ।

उद्घाटन खेलमा लहान क्रिकेट क्लव, सिरहा र फुलबारी क्रिकेट क्लव, सुनसरी बीच प्रतिस्पर्धा हुने प्रतियोगीताको प्रदेश नम्बर २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गर्ने क्लवका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए । करिब १५ लाख रुपैया बराबरको खर्च अनुमान गरिएको प्रतियोगीतामा प्रथम पुरस्कारको रुपमा नगद १ लाख रुपैया, शिल्ड, प्रमाण–पत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद ५० हजार रुपैया, कप, प्रमाण–पत्र, मेडल प्रदान गरिने क्लवका सह–सचिव जितेन्द्र कुमार यादवले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य, खेलकुदको क्षेत्रमा क्लवले सक्रिय रहेर कार्य गर्ने तथा भ्रष्टाचारको उन्मूलन गरिने अध्यक्ष यादवले बताए ।