न्यूज टुडे
राजबिराज, २१ असोज ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका १ स्थित जनचेतना माध्यमिक विद्यालय घोंघिदाहाद्वारा संचालित ४० औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि शुरु हुने जिल्लामै ख्याति प्राप्त फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको हो ।
फुटबल प्रतियोगिताको उद्घाटन सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का साँसद डा. सूर्य नारायण यादवले गर्ने आयोजक समितिका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए । प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, मोरङ्ग, सुनसरी, धनुषा, सिंन्धुली गरि ८ वटा ख्यातिप्राप्त फुटबल टिमको सहभागीता रहेको उनले बताए ।
प्रतियोगिताको उद्घाटन खेल अग्निसाईर फुटबल टिम सितापुर २ सप्तरी र गोल बजार स्पोर्ट्स कल्व गोलबजार सिराहाको बीच हुने अध्यक्ष चौधरीले जानकारी गराए । प्रतियोगितामा दुधौली स्पोर्ट्स कल्व सिन्धुली, गोदार एफ सि धनुषा, बिराटनगर स्पोर्ट्स एकेडेमी मोरङ्ग, रामधुनी यूवा कल्व झुम्का सुनसरी, बसाहा क्लव उदयपुर, गोल बजार स्पोर्ट्स क्लब गोलबजार सिराहा, महुली ११ स्पोर्ट्स कल्व भवानीपुर र अग्निसाईर फुटबल टिम सितापुर बीच प्रतिस्पर्धा हुने जनाएको छ ।
प्रतियोगितामा बिजेता टिमलाई ५१ हजार नगदसहित शिल्ड प्रमाणपत्र, मेडल प्रदान गरिने छ भने उप–बिजेतालाई नगद ३५ हजारसहित कप, प्रमाणपत्र, मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
घोंघिदहमा संचालित फुटबल प्रतियोगिता जिल्लाकै ठूलो फुटबल प्रतियोगिताको रुपमा चिनिन्छ ।