न्यूज टुडे
राजविराज, २ चैत ।
भारोत्तोलन खेलाडी देबसुन्दर यादवको स्मृतिमा राजविराजमा आयोजित राष्ट्रिय भारत्तोलन प्रतियोगितामा विभागिय टोली नेपाल प्रहरीले १४ स्वर्ण सहित पहिलो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फका खेलहरु संचालन गरिएको थियो ।
प्रतियोगितमा ७ स्वर्ण सहित बर्दिया दोश्रो तथा ४-४ स्वर्ण जित्दै नेपाली सेना, कंचनपुर र आयोजक सप्तरी तेश्रो स्थान प्राप्त गरेका छन् । आइतबार अबेर रातीसम्म चलेको प्रतियोगिताको सोमबार अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ कंचनपुरका सुभास उपाध्याय स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट तथा सोही जिल्लाका अशोक सिंह भण्डारी राइजिङ प्लेयर म्यान अफ टुर्नामेन्ट घोषित भए । त्यस्तै महिलातर्फ नेपाल प्रहरीकी तारा पुनः स्ट्रोङगेस्ट वुमन अफ द टुर्नामेन्ट तथा सप्तरीकी सरिता यादव राइजिङ प्लेयर वुमन अफ टुर्नामेन्ट घोषित भइन् ।
जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा ७ वटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको थियो ।