• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गोईत नेतृत्वको संगठनले लियो जिम्मा

लहान स्थित मातलपोत कार्यालयमा विष्फोट
गोईत नेतृत्वको संगठनले लियो जिम्मा

न्यूज टुडे
राजविराज, १ चैत्र ।
आईतवार दिउँसो सिरहा जिल्लाको लहान स्थित मालपोत कार्यालयमा भएको बम विष्फोटको जिम्मा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले लिएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोईतले प्रेस विज्ञप्ती जारी गर्दै उक्त विष्फोटको जिम्मेवारी लिएका हुन् ।

‘तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा ०७७, चैत्र १ गते १२ बजेर ४७ मिनेटमा प्रेसरकुकर बम कारबाही स्वरुप विष्फोट गराएका छौ’, गोईतको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ, ‘यसरी भ्रष्टाचार जारी नै रहेभने यसभन्दा पनि उच्च स्तरको कारवाही हुनेछ ।’ यसअघि बम विस्फोट भएको कार्यालयको पहिलो तल्ला स्थित मुठ फाँट नजिक टुक्रा टुक्रा भएको मोर्चाको पर्चा समेत भेटिएको थियो ।

विष्फोटमा परि ९ जना घाईते भएका छन् । विस्फोटमा परि गम्भीर घाइते रहेका सोहि कार्यालयमा कार्यरत नायब सुब्बा शिवकुमार यादवलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । यसैगरी सोहि विष्फोटमा परेर सिरहाकै धनगढीमाई नगरपालिका–१३का सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी समेत गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ ।

घाइते हुनेमा गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका–३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सम्मुने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।