राजविराज, ६ कार्तिक। जिल्ला प्रशासन कार्याल सप्तरी र इलाका प्रशासन कार्यालय कञ्चनपुरमा २/२ जना सहित विहिवार थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालले सार्वजनिक गरेको रिपोर्ट अनुसार जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटका इन्चार्ज (नायव सुब्वा) र प्रशासन फाँटमा कार्यरत कम्प्युटर अपरेटरलाई संक्रमण पुष्टि भएको हो ।
हरेक शाखाका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि कार्यालयको मुद्दा र प्रशासन फाँटवाहेक अन्य फाँटका सेवा वन्द गरिएको थियो । विहिवारको रिपोर्ट अनुसार खुल्ला रहेका दुवै फाँटका कर्मचारीलाई समेत संक्रमण देखिएको कार्यालय श्रोतले जनाएको छ ।
यसैगरी इलाका प्रशासन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुखसहित २ जना र वैदेशीक रोजगार फाँटमा कार्यरत एक जनालाई संक्रमण पुष्टि भएको छ । कार्यालयका ५ कर्मचारी मध्ये २ जनाको रिपोर्ट निगेटिभ आएको छ। एक जनाले सुनसरीवाट स्वाव परिक्षण गराएको र उनको रिपोर्ट आउन वाँकी रहेको एक कर्मचारीले जानकारी दिए ।
दुई दिनअघि कार्यालयका कर्मचारीलाई कोरोनाको लक्षण देखिएपछि मंगलवार जिल्ला प्रशासन कार्यालय मार्फत उनीहरुको स्वाव परिक्षण गराईएको थियो । जिल्ला प्रशासन कार्यालयमा स्वाव संकल गरिएका ५१ जना मध्ये १० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी, शम्भुनाथ नगरपालिका ८ का महिला, राजविराज ५ का ६५ वर्षिय पुरुष, राजविराज २ का ११ वर्षिया वालिका, राजविराज ८ का २८ वर्षिय पुरुष र हनुमाननगर कंकालिनी नगरपालिका १ का ४२ वर्षिय पुरुषलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १५ सय ३२ पुगेको छ ।
यसैगरी, विहिवार ४ महिलासहित १८ जना निको भएका छन्। योसँगै कोरोना संक्रमण जित्नेका संख्या १२ सय ९३ पुगेको छ ।सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ।
विहिवार साँझसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २१६ छ।