
राजविराज, २७ असोज। तिरहुत–२ मैनाकडेरीकी ५० वर्षिया महिला दायमनदेवी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
तिरहुत–२ का २१ वर्षिय अजय कुमार यादव, ५२ वर्षिय ओमप्रकाश यादव(राधे) र कञ्चनरुप–११, ठेलीयाका ५५ वर्षिय बमबहादुर साहलाई प्रहरीले पक्राउ गरेको हो ।
असोज ११ गते गाउँवाट एकान्तमा रहेको आफ्नै घरमा दायमनदेवीको शव भेटिएको थियो । उनका पति शिवनारायण यादव शिक्षक छन् । असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा अजय, ओमप्रकाश र बमबहादुरले मिलेर महिलाको घाँटीमा डोरीले वाँधेर हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
आरोपी मध्येका बमबहादुरले महिलालाई भुईमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको र िअन्य दुई जनाले वाहिर वसेर हत्यामा सहयोग गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरमा प्रवक्ता एसपी कृष्ण प्रसाईले वताए ।
उनीहरुले आफनो अपराध स्विकार पनि गरेको प्रसाईले जानकारी दिएका छन् । आफनी देउरानीसँग ओमप्रकाशको गोप्य सम्बन्ध रहेको दायमनदेवीले थाहा पाएपछि उनको हत्या गरिएको अनुसन्धानमा खुलेको प्रसाईंले बताए ।
यसैगरी, अजय यादवले भने जग्गा विवादका कारण ओमप्रकाशको साथ दिएको प्रहरीको अनुसन्धानवाट खुलेको छ । प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा बिवादकै कारण बाली नबुझाएको देखिएको छ।’
यसैगरी, बमबहादुर भने बिगतमा मधेश मुक्ति टाईगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा ८ वर्ष जेल सजाय बसी २ बर्ष अघि हिरासत मुक्त भएको र निजलाई ओमप्रकाशयादव र अजय यादवले हत्यामा संलग्न गराएको प्रहरीको दावी छ ।