राजविराज, २४ असोज। कोरोना भाइरसका संक्रमितको कुल संख्याका आधारमा नेपाल अति प्रभावित मुलुकको सुचिमा छ । सकृय संक्रमितको प्रतिशतका आधारमा भने अति प्रभावित मुलुकको दोस्रो स्थानमा रहेको भारतलाई समेत नेपालले पछि पारेको विज्ञहरु वताउँछन् । यो तथ्यांकले नेपालमा संक्रमणको डरलाग्दो अस्था देखाउने उनीहरुको भनाई छ।
नेपालमा शनिवार संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुग्दा सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ छ। यो कुल संक्रमितको २९ दशमलव १६ प्रतिशत हो। भारतमा हाल सक्रिय संक्रमितको दर १२ दशमलव ९ प्रतिशतको आसपासमा छ।
यसैगरी, बाङलादेशमा २२, भुटानमा १७ दशमलव १, अफगानिस्तानमा १२ दशमलव ९, श्रीलङ्कामा १२ दशमलव ३ र माल्दिभ्समा १० दशमलव ५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारी भन्छन्–‘सक्रिय संक्रमितको दर धेरै हुनु भनेको त्यो देशमा धेरै जोखिम छ भन्ने हो।’
यति मात्र होईन, सरकारले पछिल्लो समय उपत्यका वाहिरको परिक्षणको दायरा घटाएको छ। जसका कारण संक्रमित र सक्रिय संक्रमितको संख्या कम देखिएको छ। परिक्षणको दायरा पहिलेकै अवस्थामा पुर्याउने हो भने यो तथ्यांक अझै वढेर जाने त्यस क्षेत्रमा काम गरिरहेका विज्ञ स्वास्थ्यकर्मीहरु वताउँछन् । ‘संक्रमणको अवस्था हेर्दा पहिलाको अवस्था भन्दा पनि वढेर परिक्षण गर्नु पर्ने अवस्था छ’ एक जना स्वास्थ्यकर्मी भन्छन्–‘तर, सरकारले परिक्षण नै नगर्नु भन्दै निर्देशन जारी गर्यो ।’
सरकारले हाल काठमाण्डौ उपत्यकालाई मात्रै केन्द्रित गरेर परिक्षणको दायरा वढाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए । उपत्यका वाहिर लक्षण देखिएकाहरुको मात्रै पिसिआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालयले पत्राचार गरेपछि दायरा घाईएको उनले वताए । ‘मन्त्रालयको निर्देशन अघि हामीले दैनिक ५ सयसम्मको स्वाव संकलन गरेका थियौं र दैनिक ५० जनासम्म संक्रमित फेला पर्थे’ उनी भन्छन्–‘तर अहिले दिनमा सरदर ४०/५० जनाको मात्र स्वाव संकलन गर्ने गरिएको छ।’ सप्तरी मात्र होईन, सवै जिल्लाको अवस्था उस्तै रहेको यादवले जानकारी दिए।
लडडाउन तथा निशेधाज्ञाकै समयमा दैनिक ५० जनासम्मलाई कोरोना संक्रमण पुष्टि हुने गरेको सप्तरीमा अहिले अझै भयावह अवस्था रहेको जानकारहरु वताउँछन् । यतिवेला लकडाउन र निषेधाज्ञा खुलेको तथा स्वास्थ्यका सामान्य मापदण्ड समेत पुरा नगरी मानिसहरुको ओहोर–दोहोर वढेकोले संक्रमित हुनेको दर अझै वढेको हुन सक्ने उनीहरुको अनुमान छ।
तर, परिक्षणको दायरा नै घाटाईएका कारण संक्रमितको पहिचान हुन सकेको छैन । ‘जस्लाई लक्षण देखिन्छ त्यसको मात्रै परिक्षण गर्ने हो। उसका परिवारका सदस्य समेतलाई परिक्षण नगरी घरमै वस्ने सल्लाह दिने गरिएको छ’ निमित्त प्रमुख यादव भन्छन्–‘यो अवस्था भनेको अत्यन्तै जटिल अवस्था हो।’ पहिलेको जस्तो मासमा परिक्षण गर्ने र कन्ट्याक ट्रेसिङ्ग गर्ने सवै प्रकृया सरकारको निर्देशनपछि रोकिएको उनले जानकारी दिए ।
‘सवारी साधन खुलेका छन् । काठमाण्डौ लगायत विभिन्न ठाउवाट मानिस आउजाउ वढेको छ । चाडवाडका कारण वजारमा मानिसको भिडभाड उत्तिकै छ । यो अवस्थामा परिक्षणको दर वढाउनु पर्ने थियो । तर, अवस्था उल्टो छ’ यादव भन्छन्–‘परिक्षणको दर घटाईएको छ । यसले अवस्थालाई अझै खराव वनाउँदैछ ।’
परिक्षण नै नगरेपछि समुदायमा लक्षण नभएका सकमितको संख्या ह्वात्तै वढेको हुन सक्ने जानकारहरु वताउँछन। तर, लक्षण नभएका संक्रमितले संक्रमण सार्ने सम्भावना थोरै र सरेपनि त्यसको क्षमता कमजोर हुने गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झा वताउँछन् । उनी भन्छन्–‘सर्दै नसर्ने भन्ने होईन। सरेपनि भाईरस कमजोर भएर जाने भएकाले असर कम हुन्छ।’
सप्तरीमा हालसम्मको अवस्था
जिल्लामा हालसम्म १८ हजार ४७४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १६ हजार ९८२ जनाको नेगटिभ र १३ सय ६२ जनाको रिपोर्ट पोजेटिभ छ । १३० जनाको रिपोर्ट आउन वाँकी छ।
संक्रमित मध्ये ११ सय १२ जना निको भएर डिस्चार्ज भएका छन भने १९ जनाको मृत्यु भएको छ । जिल्लामा शनिवारसम्म २३१ जना सक्रिय संक्रमित रहेको कार्यालय प्रमुख यादवले वताए । सकृय संक्रमितको यो संख्या कुल संख्याको १६ दशमलव ९६ प्रतिशत हो ।
अव उपचार पनि आफै
लकडाउन खुलेसँगै यातायात, वजार पसल निर्वाध खुलेका छन् । मालपोत, जिल्ला प्रशासन लगायतका सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड छ । चाडवाड नजिकिएसँगै वजारमा पनि मानिसको चहल पहल छिचोलिन नसक्नु छ। तर, नत परिक्षण छ, नत सुरक्षाका मापदण्ड कार्यान्वयन गरिएको छ । यस्तो अवस्थामा संक्रमणको अवस्था जटिल हुने यादव वताउँछन् ।
अर्कोतर्फ सरकारले परिक्षण र उपचारको पैसा संक्रमितसँग लिने भन्दै पत्राचार गरेको छ । ‘जाँच र उपचार खर्च ब्यक्तिले नै तिर्नु पर्ने गरी पत्राचार गरिएको छ’ स्वास्थ्य कार्यालय प्रमुख यादव भन्छन्–‘तर, हाम्रोमा अहिले त्यो अवस्था आईसकेको छैन।’ प्रदेश २ को समाजिक विकास मन्त्रालयले दशैं तिहारसम्म परिक्षण र उपचारको खर्च ब्यहोर्ने वताएकाले तत्काल नागरिकलाई भार नपरेको उनी वताउँछन् ।
विकल्पको खोजी
संघीय सरकारले जाँच र उपचार खर्च संक्रमितले नै ब्यहार्नु पर्ने भन्दै पत्राचार गरिसकेको र प्रदेश सरकारले दशै तिहारसम्मका लागि मात्रै धान्न सक्ने अवस्था देखिएपछि सप्तरीमा भने विकल्पको खोजी सुरु भएको छ ।
०७७ असोज २३ गते (शुक्रवार) को विपद ब्यवस्थापन पुर्व तयारी वैठकमा स्वास्थ्य कार्यालयले विकल्पका विषयमा प्रस्ताव लगेको थियो । सप्तरीमा परिक्षणको दायरा वढाउने विषयमा कुरा उठ्यो तर, कसरी भन्ने विषय पनि सँगै उठेपछि स्थानीय सरकारले सहयोग गर्ने मौखिक सहमति वनेको यादवले जानकारी दिए ।
‘पिसिआर मेसिन र जनशक्ति हामीसँगै छ। । किट, भिटिएम र रिएजेन्ट खरिद गर्न सके आफनै वलवुतामा परिक्षण वढाउन सकिन्छ’ उनले भने–‘स्थानीय तहका तर्फवाट त्यसको तयारीको जिम्मा मलाई नै दिएकाले आवश्यक तयारी भईरहेको छ ।’
कोरोना संक्रमणको प्रारम्भिक चरणमा सजगता अपनाएका कारण सप्तरीको अवस्था सामान्य अवस्थामै रहेको वताएका उनले भने–‘हामीले रात–दिन केहि नभनी काम गर्यौ। तर, सरकारको पछिल्लो निर्णयले त्यो मेहनत वालुवामा पानी खन्याए सरह भयो ।’ तर, स्थानीय सरकारले सहयोग गरे सप्तरीको अवस्था अझै सुधार गर्न सकिने उनको वुझाई छ।