• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

तिलाठी कोइलाडी–८ मा प्रसुति सेवा केन्द्र सञ्चालन

तिलाठी कोइलाडी–८ मा प्रसुति सेवा केन्द्र सञ्चालन

राजविराज, २९ भदौ । तिलाठी कोइलाडी गाउँपालिकाले वडा नं. ८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबारदेखि प्रसुति सेवा केन्द्र सञ्चालन गरेको छ ।

राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह र प्रदेश नं. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा वोल्दै राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले प्रसुति सेवा केन्द्रलाई नमूना बनाउन सबैसँग आग्रह गरे ।

उनले राजविराजमा बनाउने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको योजनालाई सरकारले ओझेलमा पारेको आरोप पनि लगाए। प्रतिष्ठानको काम यथाशिघ्र सुचारु गर्न उनले माग गरे।

निरन्तरको लकडाउनले अर्थतन्त्र खस्किदो रहेको बताउँदै उनले लकडाउन मात्रै समस्याको समाधान नभएको र कोरोना भाइसरले एउटा सुसंस्कृत र परिष्कृत मानव बनाउन भूमिका निर्वाह गरेको बताए।

प्रदेश नं. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री साहले मातृ, बाल तथा शिशु मृत्युदर प्रदेश नं. २ मा अत्यधिक रहेको हुँदा त्यसलाई घटाउन सबैको सकारात्मक पहल हुनु जरुरी रहेको वताए ।

भौतिक विकासलाई मात्रै विकास भएको ठान्ने हाम्रो प्रवृति रहेको बताउँदै मन्त्री साहले शिक्षा र स्वास्थ्यको अवस्था राम्रो भएमा मात्रै विकासले गति लिने बताए ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेमा प्रदेशकै स्वास्थ्य हब बन्ने निश्चित रहेको तर वर्तमान सरकार त्यसप्रति उदासिन रहेको उनको आरोप छ। निषेधाज्ञा मात्रै लगाएर कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सकिदैन भन्दै उनले भने –‘हामीले हाम्रो बानी ब्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ ।’

उनले तोपाको पशु हाटलाई प्रदेश स्तरीय हाट बनाउने प्रतिबद्धता पनि ब्यक्त गरे ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले तिलाठी, लौनिया र सकरपुरामा समेत अबिलम्ब प्रसुति सेवा केन्द्र सञ्चालन गरिने बताए । तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा निकट भविष्यमै टेलीमेट्री प्रणालीबाट सेवा प्रदान गरिनुका साथै एक्स रे सेवा तथा आकस्मिक सेवा समेत सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा तोपा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद मण्डलले राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह र मन्त्री शैलेन्द्रप्रसाद साहलाई दोसल्ला ओढाई सम्मान गरे।

वडा नं. ८ को वडा कार्यालय भवन निर्माणको लागि जग्गा दिएका ईन्जिनियर शैलेन्द्रकुमार झालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले दोसल्ला ओढाई सम्मान गरे।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव, वडा नं. ५ का अध्यक्ष राजेन्द्र साह, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेशकुमार झा, सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, सेभ द सप्तरीका विष्णुकान्त देव, ब्यवस्थापन समितिका उपाध्यक्ष ललन दास, राधेश्याम यादवसहितले मन्तब्य ब्यक्त गरे।