• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पेट्रोल पम्प सञ्चालकले अप्टिकल फाईवर काटिदिएपछि सप्तरीको पुर्वी क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पेट्रोल पम्प सञ्चालकले अप्टिकल फाईवर काटिदिएपछि सप्तरीको पुर्वी क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

वृजमान तामाङ्ग

विरेन्द्रवजार, २८ भदौ । रुपनी स्थित एक पेट्रोल पम्प सञ्चालकले अप्टिकल फाईवर काटिदिएपछि सप्तरीको पुर्विक्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

रुपनी गाउँपालिका–६ स्थित भगत ट्रेड्सद्वारा संचालित पेट्रोल पम्मका सञ्चालक रंजित भगतले अफटिकल फाईवर काटिदिएका हुन । पेट्रोल पम्म माथिबाट तानिएको तार काटिएपछि आईतवार विहान करिव ७ वजेदेखि ईन्टरनेट सेवा अवरुद्ध भएको छ । अपटिकल फाईवर काटिएपछी रुपनी गाउँपालिकाको बिरेन्द्र बजारदेखि पुर्व बरमझिया, फत्तेपुर र उदयपुरको रामपुरसम्मको इन्टरनेट सेवा अवरुद्ध भएको सेवा प्रदायकहरुले वताए ।

सुबिसु, वल्र्ड लिंक, ब्रोड लिङ्क, वेव सरभर, म्याक्स नेट, फास्ट लिङ्क लगायतको सम्पुर्ण सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक सुबिसु सप्तरीका सिनियर प्राबिधिक ललन कुमार चौधरीले जानकारी दिए । पेट्रोल पम्पमा तारले समस्या गरेको भन्दै संचालकले काटिदिएको उनको भनाई छ । ‘समस्या आएको भए हामीलाई जानकारी गराएको भए हुन्थ्यो’ म्याक्स नेटका बितरक रामनाथ चौधरीले भने–‘कुनै जानकारी नै नदिई खुकुरीले यसरी तार काट्ने काम अनुचित हो ।’

तार मर्मत गर्न गएका कर्मचारीलाई पनि भगतले दुब्र्यवहार गरेको उनले जानकारी दिए । मेरो घरमाथिवाट तार लान दिन्न भन्दै उनले प्रहरीकै सामुन्ने आफुहरुलाई गालि गलौज गरेको चौधरीको भनाई छ ।

भगतले तार काटिदिदा लाखौ रुपैयाँ वरावरको क्षती भएको र सेवाग्राहीले हैरानी पाएको उनले वताए । भगतलाई कानुन बमोजिम कारबाही र क्षतिपुर्ती भराउनु पर्ने सेवा प्रदायकहरुले माग गरेका छन् । उनीहरुले भगत विरुद्ध ईलाका प्रहरी कार्यालय रुपनीमा उजुरी समेत दिएका छन् ।

पेट्रोल पम्प संचालक भगतले भने अफटिकल फाईबर आफुले नभई ट्रकले चुडाएको दावी गरेका छन् । ‘मैले तार काटेको आरोप पुष्टि भयो भने क्षतिपुर्ती दिन तयार छु’ उनले भने–‘हावाहुरीले तार तल झारेको थियो, मैले त्यस विषयमा जानकारी पनि गराएको थिए। अहिले ट्रकले चुँडाएछ ।’

इन्टरनेट सेवा प्रदायकहरुले भने भगतले खुकुरीले तार काटेको र समस्यामा पर्ने भएपछि पन्छिन खोजेको दाबी गरेको छन्।