Top_Header_Right_Add

बढ्दै संक्रमित

बढ्दै संक्रमित

लकडाउन, निषेधाज्ञा लगाएपनि मुलुकमा संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको छ । निषेधाज्ञाको समय बढाएको बढायै गर्दा पनि संक्रमितहरुको संख्या बढ्न नछाडेपछि राजधानीमा अहिले निषेधाज्ञालाई खुकुलो पारिएको छ । संक्रमण बढेको तथा निषेधाज्ञाको समय पनि थप गरिरहेको अवस्थालाई मुलुकले धेरै धान्न नसक्ने भएका कारणले पनि अहिले निषेधाज्ञा खुकुलो पार्दै लैजाने नीति लिईएको हुन सक्छ ।

सरकारले मात्र गर्ने कडाईका भरमा मात्र परिरहनु भन्दा पनि संक्रमण नियन्त्रणकालागि जनजनबाट यति बेला साबधानी अपनाउन जरुरी छ । सरकारले सबै ठाउँमा संक्रमण नियन्त्रणकालागि पुगेर सधैंभरि अनुगमन गर्न पनि सम्भव नरहेका कारण यसप्रति सबै जनताले सजगता तथा साबधानी अपनाई व्यवहारमा पनि परिवर्तनको बढी आवश्यकता देखिन्छ ।

उदाहरणकै रुपमा भन्नु पर्दा मास्क नलगाई बाहिर ननिस्कने, सामाजिक दूरी हरहमेशा कायम गर्ने, साबुनपानीले नियमित हात धुने, सेनिटाईजरको प्रयोग गर्ने लगायतका सुरक्षाका उपाय अबलम्बन गर्न सकियो भने संक्रमणको सम्भावना पनि न्यून भएर जाने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताईरहेका छन् । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना संक्रमणबाट जोगिनकालागि आफ्नै तर्फबाट हरसम्भव उपाय गरियो भने त्यो नै उत्तम उपाय हो ।

कसैको भरमा बस्नुभन्दा पनि अहिले सबैले आआफ्नो स्तरबाट यस अभियानमा जुट्नु पर्ने आवश्यकता छ । सबैले आआफ्नो तर्फबाट संक्रमणबाट जोगिनकालागि उपायको अबलम्बन गर्न सकियो भने त्यसबाटै कोरोना संक्रमण घटाउनमा ठूलो मद्दत पुग्नेछ । सबैले आफ्नो तर्फबाट गरिने यो प्रयासबाटै संक्रमण नियन्त्रणमा सघाउ हुन्छ भन्ने प्रमाणित भईसकेपछि अब आवश्यकता छ त्यसको पालनाको ।

सरकारले लकडाउन तथा निषेधाज्ञाका समयमा पनि पिसिआर परीक्षणको गति जुन रुपमा बढाउनु पर्ने हो त्यस बमोजिम गर्न नसकेको भनि बताइँदैछ । अहिले सुरक्षाका मामिलामा कसैले पनि हेलचेक्र्याइँ गर्नु उचित मान्न सकिन्न । एउटाको लापरवाही अरु धेरैमा संक्रमणको कारक बन्न सक्दछ भन्ने कुरालाई हृदयंगम गरी काम गर्न सकियो भने कोरोनाको नियन्त्रणमा पक्कै पनि सघाउ पुग्नेछ ।

सरकारले गरी देला भन्ने एकपक्षिय सोच परित्याग गरी आफ्नो तर्फबाट गरिने प्रयास बढी प्रभावकारी बन्ने अपेक्षा लिन सकिन्छ । संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा साबधानीको पनि बढी आवश्यकता छ । त्यसैले यस प्रति गम्भीर भएर कोरोना संक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा चनाखो भएर काम गनु नै बुद्धिमानी हुनेछ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer