• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरको बिगबिगी

सप्तरीमा अचेल चोरको बिगबिगी निकै बढ्न थालेको छ । केही दिन अघि मात्र राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिर अगाडि रहेका तीनवटा कठघरा फोरेर चोरहरुले लाखौं मूल्यका सामान लिएर फरार भए । कसले चोरी गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यसै बीच गत सोमबार राती राजविराज हटियास्थित गणेश स्टोर्स नामक पसलबाट चोरले लाखौं नगद तथा सरसामान चोरेको छ । पसलको सटर फोरेर पसेका चोरले नगद तथा रिचार्ज कार्ड लगायतका सामान लिएर गएकोमा प्रहरीलाई अपराधी पत्ता लगाउन भने सफलता मिलेको छ । उक्त पसलबाट चोरी गर्ने तथा त्यसका मतियार सहित प्रहरीले भोलिपल्टै चार जनालाई पक्रेर सार्वजनिक पनि गरिसकेको छ ।

अहिले कोरोना संक्रमण बढेका कारण सप्तरीमा पनि स्थानीय प्रशासनले निषेधाज्ञाको घोषणा गरेको छ । निषेधाज्ञाका समयमा कसैलाई पनि बाहिर जान अनुमति नरहेका कारण यस्तो बेलामा पनि हुन थालेको चोरीले सुरक्षा व्यवस्थामाथि चुनौति थपि दिएको छ । उसै पनि जनता कोरोनाका कारण यति बेला त्रासमा छन् । विपत्तिको यस्तो बेलामा पनि चोरी बढ्न थालेपछि जनतामा अझै त्रास बढ्नु स्वाभाविकै हो ।

अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्नु स्थानीय प्रशासनको जिम्मेवारी हो । अहिले कोरोना संक्रमण बढेका कारणले सुरक्षा संयन्त्रमाथि थप जिम्मेवारी बढेको छ । सुरक्षाकर्मीलाई सीमावर्ती क्षेत्रका साथसाथै जिल्लाभरि परिचालित भई काम गर्नु परिरहेको छ । यस्तो बेलामा बढ्न थालेको अपराधले सुरक्षाका मामिलामा थप सतर्कताको बोध गराएको छ ।

जिल्लामा तस्करी पनि यसै समयमा बढेको छ । सप्तकोशीबाट डुङ्गा मार्फत भारततर्फ केराउ तस्करी गर्ने तयारीको अवस्थामा सप्तरी प्रहरीले दुई पटक तस्करीको सामान नियन्त्रणमा लिई भन्सार चलान गरेको छ । यस्तै केही दिन अघि मात्र ठूलो परिमाणमा मदिरा समेत नियन्त्रणमा लिएको थियो । अहिलेको असहज अवस्थामा पनि यसरी चोरी तस्करी बढ्नु भनेको थप चिन्ताको विषय हो । यस्तो बेलामा तस्करी मौलाउँदा कोरोनाको संक्रमण समेत बढेर जाने सम्भावना प्रबल हुने भएका कारणले गर्दा पनि त्यसमा कडाई गर्न जरुरी छ ।

अहिले भारततर्फ आवागमन नहोस् भन्नाकालागि सीमा नाकामा कडाई गरिएको छ । भारततिर पनि कोरोनाको संक्रमण तिब्र रहेका कारणले आवागमनमा कडाई गरिएको हो । यस्तो बेलामा त्यहाँबाट आवागमन हुँदा संक्रमणको खतरा अझै बढ्न सक्ने भएका कारणले नै कडाई गर्नु परेको हो । अतः यस्तो समयमा हुने गरेको चोरी तथा तस्करीमाथि नियन्त्रणकालागि सुरक्षा व्यवस्था अझै कडा पारिनु जरुरी छ ।