राजविराज, २२ भदौ । सप्तरीको सप्तकोशी नगरपालिकाका ७३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्टमा उनीहरु सवैको रिपोर्ट नेगेटिभ देखिएको हो।
सप्तकोशी नगरपालिकामा पनि समुदायमै कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालय सप्तरीले गत भदौ १८ गते नगरक्षेत्रका ७३ जनाको स्वाव संकलन गरी परिक्षण गरेको थियो।
स्वाव संकलन गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
सप्तरीमा हालसम्म कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ । जसमध्ये ६ सय ६४ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यू भएको छ ।
२ सय ४४ जना आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।