• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

भारतीय यूवाद्वारा कुटपिट गरिएका सप्तरीका एक किसानको मृत्यु

भारतीय यूवाद्वारा कुटपिट गरिएका सप्तरीका एक किसानको मृत्यु

राजविराज, २२ भदौ। भारतीय यूवाहरुको कुटपिटका कारण घाईते भएका सप्तरीका एक किसानको सोमवार उपचारका क्रममा मृत्यु भएको छ ।

डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५८ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

भदौं ६ गते ५/६ जना युवाहरुको समुहले नेपालतर्फको धान खेतमा गाईबस्तु ल्याएर चराउन थालेपछि रोक्ने क्रममा उनीमाथि कुटपिट भएको थियो । आफ्नो खेतमा भारतीय पशुचौपायाले धानबाली नष्ट गरेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले गाली गलौज गरेपछि विवाद सुरु भएको थियो ।

गाइबस्तु चराउन लागेका भारतीय गोठालाहरुले बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेपछि रामदेव गम्भिर घाइते भएका थिए भने उनका छोरा समेत कुटिएका थिए ।

गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिटमा संलग्न भारत बिहार राज्यको लौकही जिल्ला करिऔत ग्रामपञ्चायत निवासी ३६ वर्षिय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ। अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारि रहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले जानकारी दिए ।