राजविराज, २१ भदौ । सप्तरीमा आइतबार पनि १८ जना कोरोना संक्रमित फेला परेका छन् ।
अदालत, प्रहरी, विद्युत कर्मचारी र स्वास्थ्यकर्मी समेत गरी १८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
राजविराजका ३३ वर्षीय प्रहरी (पुरुष), अदालतका ५२, २५, ३४ र उमेर नखुलेका एकसहित ४ पुरुष, विद्युत कार्यालयका उमेर नखुलेका ३ पुरुष र तिलाठी कोईलाडी गाउँपालिकाकी २७ वर्षीया महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिका १ का १७ वर्षीय, वडा नं. २ का २८ वर्षीय, वडा नं. ६ का ६४ वर्षीय र वडा नं. ७ का २९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनीहरु क्वारेन्टाईनमा रहेको गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक राजेश झाले बताए ।
यस्तै राजविराज ४ का ७० वर्षीय पुरुष र ३५ वर्षीया महिला, वडा नं. ७ का २७ वर्षीय पुरुष तथा वडा नं. २ का २२ वर्षीय पुरुष र १४ वर्षीया महिलालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।
गजेन्द्र नारायण सिंह अस्पतालले आइतबार १ सय ९४ जनाको रिपोर्ट सार्वजनिक गरेको थियो । १ सय ७६ जनाको रिपोर्ट नेगेटिभ छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ । जसमध्ये ६ सय ६४ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यू भएको छ ।
२ सय ४४ जना आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।